प्रदेशफिचरमुख्यसमाज

सातै प्रदेशमा भ्रमण वर्ष २०२० को उद्घाटन, प्रदेश १ को विराटनगरमा मुख्यमन्त्री राईबाट शुभारम्भ, गण्डकीले आधा हिस्सा बोक्ने उद्घोष

विराटनगर, १६ पुस २०७६ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन गरिरहँदा यता प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरको सहिद रंगशालामा उद्घाटन गरे । यसै गरी सबै प्रदेशका प्रमुखहरुले आ–आफ्नो प्रदेशमा नेपाल भ्रमण वर्षको शुभारम्भ आजैबाट गरेका छन् ।
सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा सन् २०२० लाई लिएको छ।
रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रमलाई दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारीक सुभारम्भ गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको बताइन। उनले भ्रमण वर्षलाई महाअभियानको रुपमा लिनुपर्ने बताइन। त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनको धारण छ।
‘हाम्रो साँस्कृतिक, प्राक्रितिक हरेक हिसाबले विविधता युक्त भएकाले सबै खालका पर्यटकहरुलाई हामी आकर्षित गर्न क्षमता राख्दछौं’ उनले भनिन्,‘यस सन्दर्भमा भ्रमण वर्ष २०२० को लक्ष्य हाँसिल गर्न काम गर्न सक्नुपर्दछ।’
समुद्घाटन कार्यक्रम पाँच घण्टासम्म सञ्चालन भएको छ। नेपालको संस्कृति झल्कने नाचगानबाट कार्यक्रम सुरू भएको थियो। समारोहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइएको थियो।
यसैगरी प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन कार्यक्रममा नौमति बाजा बजाएर विभिन्न जातजाति तथा समुदायको झाँकीसहित यसको उद्घाटन गरिएको हो । त्यस अवसरमा सुरक्षा निकाय, विद्यार्थी तथा समूहले आआफ्नो प्रस्तुति देखाए । कार्यक्रममा मुख्यमन्त्री एवं प्रदेश स्तरीय पर्यटन प्रवद्धन समितिका संरक्षक मुख्यमन्त्री शेरधन राईले यो वर्ष आर्थिक समृद्धिको जग बसाउने वर्ष भएको उल्लेख गरे ।
प्रदेशमा मुलुककै होचोस्थान कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको बताउँदै उनले भ्रमणवर्षलाई भव्य र सभ्य रुपमा अघि बढाउन सबैले जुटेर साथ दिनु पर्नेमा जोड दिए । नेपाल सरकारले तोकेको १ सय पर्यटकीय गन्तव्य मध्ये १६ प्रमुख गन्तव्य यस प्रदेशमा रहेको बताउँदै राईले भ्रमणवर्षले रोजगारी, गरिबी निवारण, आर्थिक समृृद्धिलाई समेत टेवा पु¥याउने विश्वास लिए । उनले भने, ‘प्रदेशमा भएका अन्य रमणीय, मनोरञ्जनात्मक पर्यटकीय क्षेत्रको पहिचान गर्दै भौतिक पूर्वाधार तयार गर्न सरकारले प्राथमिकतामा राखेर काम थालेको छ ।’
त्यसैगरि कार्यक्रममा भारत पश्चिमवंगाल सिलीगुडीका ग्रामीण पर्यटन अभियान्ताका रुपमा चर्चित राज बासुले भ्रमण वर्षले दुई राष्ट्रबीच पर्यटनको दायरा फराकिलो बनाउने बताए । भारतको गान्धी पर्यटन पुरस्कार २०१९ पुरस्कृत र नेपाल भ्रमण वर्ष सन् १९९८ मा सम्मानित बासुले ग्रामीण पर्यटन प्रवद्र्धनका क्रममा निश्चित स्थानमा रेडपाण्डा सर्किट, लालीगुराँस सर्किट, हात्ती सर्किट बनाउन सकिनेमा जोड दिए ।

त्यसैगरि, प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरण मन्त्री जगदीश कुसियैतले भ्रमण वर्षभर पर्यटनको संख्या र बसाई बढाउने र रोजगार सृजना गर्नेतर्फ प्रदेश सरकार लक्षित रहेको बताए । कार्यक्रमको अवसरमा ९ जनालाई प्रदेश सरकारले पर्यटन सद्भावना दूतका रुपमा नियुक्त गरेको छ ।
जसमा २४ पटक सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका सोलुखुम्बुका कामीरिता शेर्पा, मिसेज एशिया यूनिभर्स २०१७ तथा शौन्दर्यकर्मी धरानकी पिंकी राजगरहिया, ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल सफलतापूर्वक आरोहण गरेका संखुवासभाका मिङ्मा शेर्पा, सानु शेर्पा, छाङ्दावा शेर्पा, ताप्लेजुङका मिङमा ग्याल्बो शेर्पा, अल्ट्रा म्याराथन धाविका भोजपुरकी मीरा राई, विराटनगरकी कलाकार दीपा श्री निरौला र नेपालकै अग्ला व्यक्ति ७ फुट ३ इन्च उचाइका सुनसरीका राजन अधिकारी छन् ।

यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्रीले पर्यटन वर्ष २०२० को उद्घाटन गर्दै लक्ष्यको आधा योगदान गण्डकी प्रदेशले गर्ने बताएका छन् ।
प्रदेश राजधानी पोखरामा बुधबार नेपाल भ्रमण वर्षको सुरुआत गर्दै उनले सरकारबाट राखिएको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न आफ्नो प्रदेशले आधा योगदान गर्ने बताएका हुन् ।
मुख्यमन्त्री गुरुङले नेपाल सरकारबाट भ्रमण वर्ष २०२० घोषणा हुनुअघि नै गण्डकीले छिमेकी देश भ्रमण वर्ष कार्यक्रम घोषणा गरेकोसमेत स्मरण गरे । ‘तथ्यांकले भन्छ अहिले पनि नेपालमा आउनेमध्ये ४० प्रतिशत पर्यटक गण्डकी प्रदेशमा आउँछन्’, उनले भने, ‘अब २० लाख पर्यटक भिœयाउन हामीले आधा योगदान गर्नुपर्छ ।’

Comment here