कला/साहित्यफिचरमुख्यसमाज

चर्चित लोकदोहोरी गायक सपुत नायकतिर

रायुजा डेक्स न्युज
विराटनगर, २८ पुस २०७६ । पछिल्लो समय लोक दोहोरीबाट नाम र दाम दुवै कमाएका गायक प्रकाश सपूत नायकतिर प्रवेश गरेका छन् । यस अघि इन्डियन आइडल जितेका गायक प्रशान्त तामाङले अभिनय गरेको २०७२ सालको हिट फिल्म ‘परदेशी’को सिक्वेल ‘परदेशी –२’मा नायकको रूपमा उनी अनुबन्धित भएका छन् ।
गायकका रूपमा फिल्ममा नायक बनेको प्रकाश नै पहिलो नेपाली कलाकार भने हैनन् । नेपाली चलचित्र वृत्तमा शिब शंकरबाटै गायनबाट नायक बन्ने क्रम सुरु भएको थियो । पहिलो चलचित्र आमाका नायक शिवशंकर पनि पहिला गायक थिए । उनलाई त्यसमा नायक बनाइएको थियो । त्यसपछि उनी अरू फिल्ममा देखिएनन् ।
अभिनेता रामकृष्ण ढकाल चलचित्र ‘आशीर्वाद’मा नायक भएका थिए । उनलाई त्यसपछि अरू चलचित्रमा नायकको रूपमा देख्न पाइएन । एक समय गायक उदित नारायण झा पनि नायकका रूपमा फिल्ममा आए । उनले पनि चलचित्र कुसुमे रुमाल खेले । त्यो फिल्म हिट भयो । तर, त्यसपछि उनी गायनमै व्यस्त रहे ।
पछिल्लो पुस्ताका गायकहरू निमा रुम्बा, यश कुमार र बाबु बोगटी पनि चलचित्रमा नायक बने । यी गायकहरूले पनि केही फिल्म खेले । तर, उनीहरूको चलचित्रमा सफल भएनन् । अन्तमा यतिबेला उनीहरू गायनमै रमाइरहेका छन् ।
अहिले भने प्रकाश सपूतले चलचित्रमा नायकको रूपमा छलाङ मारेका छन् । आगामी फागुनबाट छायांकन सुरु हुने चलचित्र परदेशी २ मा पंकाश मुख्य नायकका रूपमा छन् ।
दुई वर्षअघि ‘बोल माया’ गीतबाट गायनसँगै अभिनयमा प्रकाश सपूत चर्चामा आएका थिए । त्यसपछि उनलाई गलबन्दीलगायतको गीतले हिट बनाएको छ । स्कुले जीवनमा नाटक खेलेको बताउने प्रकाशले नायक बन्ने सपना अब चलचित्र परेदशी २ बाट पूरा गर्नेछन् । यसका लागि उनले विभिन्न तयारी गर्ने भएका छन् ।
यो चलचित्रलाई नारायण रायमाझीले निर्देशन गर्दै छन् । फिल्मको स्कृप्टसँगै अहिले गीत संगीतको काम भइरहेको छ । फिल्मको बाँकी कलाकारको चयन पनि चाँडै हुनेछ । गायक प्रकाश सपूत सोमबार राति दुई साताका लागि जापान उडेको छन् । जापानबाट नेपाल फर्किएकपछि फिल्मको बाँकी काममा आबद्ध हुनेछन् । उनले गायन र अभियन दुवैमा अब समय दिनेछन् ।

Comment here