अर्थ/वाणिज्यफिचरसमुन्द्रपार

हिमपात र वर्षाका कारण पाकिस्तान नियन्त्रित क्षेत्र कास्मिरमा ठूलो क्षति, ५ दर्जनबढीको निधन, झण्डै त्यतिनै घाइते, २८ बेपत्ता

एजेन्सी,
इस्लामावाद, १ माघ २०७६ । पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।
घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराइरहेका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ ।
प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् । देशको निलम उपत्यकामा सवै भन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । हराइरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए । उनले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताए ।
काश्मिरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाई छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ । उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यसपटकको विपद् निकै घातक भएको छ । खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।

Comment here