फिचरमुख्यराजनीतिसमाज

ललिता निवास जग्गा प्रकरण : प्रतिशोधले गच्छदारमाथि लागेको आरोप

रायुजा संवाददाता
काठमाडौं, २३ माघ २०७६ । नेपाली कांग्रेस उपसभापति विजय कुमार गच्छदारमाथि राजधानीको ललिता निवास जग्गा प्रकरणमा मुछिएको विषयलाई राजनीतिक प्रतिशोधका रुपमा व्याख्या गर्दै सुनसरी जिल्लाबाट आन्दोलनको तयारी भएको छ । गच्छदारको गृह जिल्ला राजनीतिक कर्म थाले समेत रहेको भन्दैजिल्ला पार्टी कार्यालय सुनसरीले पत्रकार सम्मेलन गरी आन्दोलनमा होमिने चेतावनी दिएको हो ।
जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सभापति राजिब कोइरालाले पार्टी उपसभापति समेत रहेका संसदीय दलका उपनेता गच्छदार माथि लगाइएको आरोप सहैय हुन नसक्ने भन्दै उक्त कदम विरुद्ध आन्दोलनमा होमिनु बाहेकको विकल्प नरहेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले वर्तमान सरकार दुई तिहाईको दम्भ देखाएर सुनियोजित तवरले काँग्रेसमाथि जाईलागेको बताए । उनले मुद्दा फिर्ता नलिए वर्तमान सरकार विरुद्ध सडक संघर्षको विकल्प नहुने बताए ।
गच्छदारको चरित्र हत्या गर्ने नियतले ललिता निवास प्रकरणमा मुद्दा दायर गरिएको निष्कर्श निकालेको सुनसरी काँग्रेसले जग्गा प्रकरणमा संलग्न भनिएका अन्यलाई सरकारमा रहेको पार्टीमा आवद्धताका आधारमा उन्मुक्ति दिनु काँग्रेस माथिको ठाडो प्रहार भएको बताएको छ ।
सुनसरी काँग्रेसले केन्द्रको निर्देशन मान्ने गरी जिल्ला स्तरमा आन्दोलनमा होमिने बताएको छ । सुनसरी काँग्रेसले भातृ संगठन सहित जिल्ला स्तरका सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई आन्दोलनको तयारीमा जुट्न तयारी अवस्थामा रहन समेत भनेको छ । गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।

Comment here