क्या बोर यार !फिचरराजनीतिसमाज

कांग्रेस उपसभापति गच्छदार पनि सांसदबाट स्वतः निलम्बित

रायुजा डेक्स न्युज
विराटनगर, २४ माघ २०७६ । नेपाली कांग्रेसका उच्च ओहदाधारी व्यक्तिहरु मध्ये पछिल्लो समयमा नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा पदबाट निलम्बित भएका छन् । यसअघि पनि कांग्रेसका प्रभावशाली नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायत भ्रष्टाचारकै कारणले राजनीतिबाट विमुख बनेका थिए । राजनीतिक दल सम्बन्धी कानुनले पनि अब गच्छदारलाई राजनीतिक गर्न दिने छैन । यद्यपि मुद्दा अदालतमा प्रक्रियागत ढंगबाट चलिरहेको र उनले सफाई पाउने आधार तयार भए मात्र उनको राजनीति निरन्तर अगाडि बढ्ने छ ।
वालुवाटारको सार्वजनिक जग्गा दर्ता गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बितमा परेका हुन् ।
उनी विरुद्धको मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको दाबी अदालतबाट ठहर भएमा गच्छदारको राजनीतिक जीवन समाप्त हुनेछ ।
राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजाय पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन पाउँदैन । गच्छदार त्यो अवस्थामा कांग्रेस केन्दीय सदस्य समेत हुन पाउने छैनन् । यसअघि कांग्रेसका नेताहरु खुमबहादुर खड्का, चिरन्जीवी वाग्ले, जेपी गुप्तालगायतका नेता सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि राजनीतिक जीवन समाप्त भएको थियो ।

Comment here