फिचरराजनीतिसमाचारसमाज

कांग्रेसको विधानबाट ५ वटा धारा निलम्बन, हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशिल सदस्य वितरण हुने

रायुजा डेक्स न्युज
विराटनगर, २९ माघ २०७६ । नेपाली काँग्रेसको केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रिय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशिल सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो ।
प्रत्येक वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । प्रवक्ता शर्माले गत पुस ११ गतेको बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनि गरेको निर्णय बुधबारको बैठकले सर्वसम्मतिले पारित गरेको बताए ।
निलम्बन गरिएका धारा
धारा ४ (२)– “एक वर्ष पुगेपछि”
धारा ४ (१०) (ञ) –“छ महिना”
धारा ४ (१२) (ख) – “नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको”
धारा ३५ (२) (घ) – “भन्दा  कम्तिमा एक वर्ष” र “तीन महिना”
धारा ५० (६) – “छ महिना अगावै” र “छ महिना”
पार्टीको महाधिवेशनसम्म विधानका ५ वटा धारा निलम्बन गर्ने निर्णय गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो । आजको बैठकमा सिटौलाको साथ पाएका देउवाले सो धारामा सहमति जुटाएका हुन् । तर त्यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक नै बहिस्कार गर्दै बहुमतबाट भएका निर्णयहरु मान्य नहुने बताउँदै आएका थिए ।
अन्य विवादित विषयलाई थाँती राखेर विधान लिनम्बनको विषय टुंगो लगाइएको हो । यस्तै पार्टीको संशोधन विधानको दफा ३५ को उपदफा २ अनुसार तोकिएको समयसीमाभित्र अधिवेशन गराउन कानुनी असहजता देखिएपछि बैठकले विधानको बाधा अड्काउ फुकाउ आदेशको प्रयोगमार्फत उक्त दफा निलम्बन गरेको छ ।
प्रवक्ता शर्माका अनुसार यहि फागुन १५ गतेभित्र समाजोजन गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ । कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्न भएमा केन्द्रबाट समन्वय गर्ने सहमति पनि बैठकमा जुटेको उनले बताए । जसमा केन्द्रीय कार्यालयले आवश्यक पहल कदमी लिने छ ।

काँग्रेसले फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरुमाथि पूर्वाग्रह राखी सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, संविधानको मर्म र भावना विपरितका विधेयक ल्याउने सरकारी निर्णयको भर्त्सना गरेको जनाएको छ । शर्माले पार्टीका मुद्दा र राष्ट्रिय मुद्दाहरुको सन्दर्भमा पार्टीका सबै नेताहरु एक ठाउँमा आएको सन्देश पनि बैठकले दिएको बताए ।

Comment here