कला/साहित्यफिचरमुख्यसमाज

मोफसलकै सर्वाधिक राशी भएको पुरस्कार कीर्तिस्मृति वृृत्ति सम्मानबाट कार्की सम्मानित हुने

पोखरा, ०१ फागुन २०७६ । मोफसलकै सर्वाधिक राशिको पुरस्कार कीर्तिस्मृति वृत्ति सम्मानबाट यस बर्ष नारायण कार्की सम्मानित हुने भएका छन् । १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशीको यो सम्मान ४ दशकदेखि निरन्तर पत्रकारितामा कृयाशील पत्रकार कार्कीलाई अर्पण गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ कास्कीले जनाएको छ । पुरस्कार छनौट समितिको सिफारिसलाई महासंघको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । प्रेस स्वतन्त्रता सेनानी तथा पूर्व सम्मानित ब्यक्ति बद्री विनोद प्रतीकको संयोजकत्वमा छनौट समिति गठन भएको थियो ।
सांसद तथा समाजसेवी सूर्यबहादुर केसीले आफ्ना बाबु कीर्तिबहादुर केसीको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् । यो पुरस्कार पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको छ । स्व। कीर्तिबहादुर केसीको जन्मदिन तथा नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा पुरस्कार अर्पण गरिने छ । २०२९ सालमा राष्ट्रिय समाचार समितिको मेची अञ्चल प्रतिनिधि भएर झापाबाट पत्रकारिता सुरु गरेका कार्की हालसम्म निरन्तर सक्रिय छन् । राससमा २० वर्ष काम सकेपछि २०४९ मा उनले राजीनामा दिएर पोखरामा स्थानीय पत्रिका सञ्चालन गर्न थाले ।
कार्की भैरहवा, काठमाण्डौं, बुटवल लगायतका शहरमा समेत रासस प्रतिनिधिको रुपमा काम गरिसकेका छन् भने २०५२ सालदेखि निरन्तर बीबीसीमा कार्यरत छन् । विमर्श, हिमालय टाइम्स, जनमञ्च, पोखराको जनमत हुँदै समाधान दैनिकमा समेत १५ बर्षसम्म निरन्तर प्रधानसम्पादकको रुपमा काम गरेका कार्की २०३४ सालमा पोखरा छिरेका थिए । विशेषगरी तत्कालीन नक्सालबादी समूहको आन्दोलन र जनयुद्धमा उनको रिपोर्टिङ स्मरणीय छ ।

आदर्श समाज डटकमबाट

Comment here