समाचार हाइलाईट
Home / Uncategorized / अवैधानिक क्लिनिक र पसलमा सिलबन्दी

अवैधानिक क्लिनिक र पसलमा सिलबन्दी

इनरुवा, असोज १५ । अवैधानिक रुपबाट सञ्चालनमा रहेका इनरुवा, सुनसरीका दुई वटा क्लिनिक र पाँच वटा औषधि पसलमा सिलबन्दी गरिएको छ ।
इजाजत नलिई सञ्चालनमा ल्याएका उक्त क्लिनिक तथा औषधि पसललाई सुनसरी जिल्ला प्रशासनको सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापासहितको अनुगमन टोलीले सिलबन्दी गरेको हो ।

इनरुवा अस्पतालमा लामो समययता सिनियर अहेवका रुपमा कार्यरत तारणीप्रसाद यादवले संचालन गर्दै आएको इनरुवा पोली क्लिनिक अनुगमन टोलीले बन्द गराएको छ । क्लिनिक बन्द गराइएपछि यादवकहाँ उपचारकालागि पुगेका विरामीहरु अन्यत्र उपचार गराउन पुगेका थिए । त्यसैगरी साएमा फार्मेसी एण्ड डाइग्नोस्टिक ल्याबरोटरी क्लिनिक समेत सम्वन्धित निकायबाट इजाजत नलिएको पाइएपछि बन्द गराइएको छ । अनुगमन टोलीले इनरुवामा रहेका सुनसरी मोडल हस्पिटलमा संचालनमा रहेको औषधी पसल, कोशी डाइग्नोसिस एण्ड रिसर्च सेन्टर र अर्को एक नाम नखुलाई संचालनमा रहेको औषधी पसलमा शिलबन्दी गरेको छ । अनुगमन टोलीले ८ स्थानमा अनुगमन गरेको थियो । जसमध्ये ५ वटा विना इजाजत संचालनमा रहेको पाइएकोपछि बन्द गराइएको थियो । अनुगमन टोली कडाइका साथ अनुगमनमा उत्रिएपछि केहि क्लिनिक तथा औषधी पसलेहरु सटर बन्द गरी फरार भएको सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले बताउनुभयो । स्वास्थ्य जस्तो संवेदनशील कुरासँग सम्वन्धित भएकाले कानुन विपरित संचालनमा रहेका क्लिनिक तथा औषधी पसलहरु उपर कानुनी कार्वाही बाहेकको विकल्प नरहेको सुनसरी प्रशासनको ठहर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया