समाचार हाइलाईट
Home / खेलकुद / विश्वकप २०१८ का अभागी राष्ट्रहरु

विश्वकप २०१८ का अभागी राष्ट्रहरु

सन् २०१५ मा सुरू भएको रूसमा हुने विश्वकप २०१८को  छनोट चरणका विश्वभरीका २ सय ९ टिमले भाग लिएर कूल ८ सय ८६ खेल खेलेका थिए। जसबाट ३१ टिम छनोट हुन सफल रहे। रूस आयोजकको रूपमा पहिले नै सुरक्षित थियो।

यीमध्ये विश्व फुटबलमा आफ्नो बलियो उपस्थिति सहितको विरासत बनाएका केही राष्ट्रहरू यसपल्ट विश्वकप छनोटबाट बाहिरिए। समस्त फुटबल पारखीहरूलाई यसले निराश पनि बनायो। रूस विश्वकप २०१८ गुमाउन पुगेका यी हुन् मुख्य दश राष्ट्र

इटाली

यसपाली सबैभन्दा अभागी टिम बन्यो इटाली। चार पटकको विश्वविजेता इटाली, युरोपियन छनोटको प्ले–अफ खेलमा स्विडेनसँग पराजितहुँदै ६० वर्षपछि विश्वकप बाहिर भएको हो।

यसअघि इटाली सन् १९५८ मा विश्वकप खेल्न छनोट भएको थिएन। इटालीले हालसम्म अठार पल्ट विश्वकप फुटबल खेलिसकेको छ, जुन कीर्तिमानी ब्राजिलको बीसौँ सहभागीतापछिको दास्रो कीर्तिमान हो। उसो त इटालीले विश्वकप २००६ देखि त्यस्तो उत्कृष्ट प्रदर्शन गरेको छैन।

नेदरल्याण्ड

विश्वकपको अभागी देश भनेर चिनिने नेदरल्यान्ड्स पनि यसपल्ट छनोट हुन सकेन। सन् २०१० मा दोस्रो र २०१४ मा तेस्रो स्थान हात पारेको नेदरल्यान्ड्स युरोप छनोटको समूह ‘ए’ अन्तर्गत तेस्रो स्थानमै सीमित बनेको थियो। नेदरल्यान्ड्स सन् १९७० पछि विश्वकपमा छनोट हुन असफल भएको हो। हालसम्म १० पटक विश्वकप खेलेको डच टोलीले २००२ को विश्वकपपछि यसपाली मात्र छनोट हुन असफल भएको हो। यसपालीको प्रदर्शनले नेदरल्याण्डले तीनपटक विश्वकप फाइनल हारेको इतिहासको सम्झना पनि भएको छ।

अमेरिका

संयुक्त राज्य अमेरिकाले पनि रसिया विश्वकपमा टिकट काट्न सकेन। अमेरिका उत्तर अमेरिकी छनोटको पाँचौ स्थानमा सीमित हुँदा सन् १९८६ पछि पहिलो पटक विश्वकपमा छनोट हुन सकेन। हालसम्म १० पटक विश्वकपमा सहभागीता जनाइसकेको अमेरिकाले आफ्नो भूमिमा एकपटक विश्वकप आयोजना गरिसकेको छ।

चिली

छनोट हुन नसक्ने अर्को अभागी टिम हो दक्षिण अमेरिकी देश, चिली। सन् २०१७ को कन्फेडेरेसन कपको उपविजेता चिली हालको दक्षिण अमेरिकी च्याम्पियन समेत हो। ९ पटक सहभागीता जनाइसकेको चिलीले विश्वकपमा औसत प्रदर्शन गरेको इतिहास छ।

पराग्वे

८ वटा विश्वकप खेलेको पाराग्वे पनि यसपल्ट रुसमा देखिने छैन। पाराग्वेसँग विश्व फुटबलका केही राम्रा खेलाडी छन्, तर ऊ सन् २०१४मा पनि छनोट भएको थिएन। यसपालीको छनोटमा पनि उसलाई दक्षिण अमेरिकी देशहरूले नै पछारेका थिए।

क्यामरून

अफ्रिकन च्याम्पियन क्यामरून पनि विश्वकपमा छनोट हुन असफल रह्यो। रोजर मिल्ला, स्यामुयल इटोजस्ता खेलाडीहरूको देश क्यामरुनले सात पटक विश्वकप खेलेको क्यामरून अफ्रिका छनोटको समूह ‘बी’ मा क्यामरून तेस्रो स्थान सीमित बनेका थियो।  इटालीमा भएको १९९० को विश्वकपमा क्यमरून क्वार्टरफाइनलसम्म पुगेको थियो।

घाना

घाना पनि सन् २०१८ को विश्वकपमा छनोट हुन सकेन। तीन पटक विश्वकप खेलेको घानाले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो।

आइभरीकोष्ट

पछिल्लो दशक विश्व फुटबलमा राम्रो प्रभाव छाडेको आइभरी कोस्ट पनि सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट हुन सकेन। अफ्रिका छनोटको समूह ‘सी’ अन्तर्गत दोस्रो भएपछि उसको सपना तुहियो। आइभरी कोस्टलाई पछि पारेर मोरक्को विश्वकपमा छनोट हुन सफल भयो। उसले सन् २००२ बाट लगातार तीपटक विश्वकप खेलेको थियो।

हंगेरी

 

युरोपियन क्षेत्र अन्तर्गत समूह बीमा रहेको हंगेरी पनि फिफा विश्वकप २०१८मा छानिएन। ९ पटक विश्वकप खेलेर २ पटक उपविजेतासमेत बनेको हंगेरी छनोटमा तेस्रो हुँलै रसिया विश्वकपबाट बाहिरिएको हो। १९८६ पछि उसले विश्वकप खेल्न पाएको छैन।

चेक रिपब्लिक

जर्मनीमा भएको सन् २००६को विश्वकपपछि लगातार छनोट हुन नसकेको अर्को देश चेक रिपब्लिक पनि हो।

युरोपियन क्षेत्रको छनोट अन्तर्गत समूह सिमा रहेको चेक रिपब्लिक समूहमा तेस्रो हुँदै रसिया विश्वकप गुमाउनु पर्‍यो।

सन् १९३४ र १९६२को विश्वकपको उपविजेतासमेत रहेको चेकले ९ पटक विश्वकप खेलिसकेको छ।

स्कटल्याण्ड

८ पटक विश्वकप खेलिसकेको स्कटल्याण्ड यसपटकको रसिया विश्वकपमा देखिनेछैन। युरोपियन क्षेत्रको समूह एफमा रहेको उसले छनोट चरणमा तेस्रो हुँदै २०१८को विश्वकप खेल्न नपाएको हो।

२१औं संस्करणको विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म रूसी महासंघको विभिन्न एघार वटा सहरका बाह्र वटा रंगशालामा हुँदैछ।

विश्वकपमा सबैभन्दा बढी युरोपबाट १४, दक्षिण अमेरिकाबाट ५,  अफ्रिकाबाट ५, एशियाबाट ५ र उत्तर अमेरिकाबाट ३ टोली छनोट भएका छन्।

छनोट हुने टोलीमा

  • युरोप – रसिया (आयोजक), स्पेन, फ्रान्स, पोर्चुगल, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड, पोल्यान्ड, सर्बिया, आइसल्यान्ड, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड र डेनमार्क
  • अफ्रिका – मोरक्को, ट्युनिसिया, नाइजेरिया,  सेनेगल  र इजिप्ट
  • एसिया – इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया
  • दक्षिण अमेरिका – ब्राजिल, उरुग्वे, अर्जेन्टिना, पेरु र कोलम्बिया
  • उत्तर, मध्य अमेरिका तथा क्यारेबियन–  मेक्सिको, कोस्टारिका  र पानामा                                     – सेतोपाटी डटकम
फेसबुकबाट तपाईको प्रतिक्रिया