समाचार हाइलाईट
Home / माेफसल / भुलचुकमा प्रधानमन्त्री बनेका देउवाले हाल गरेका निर्णय वामपन्थी सरकारले उल्ट्याउने एमाले अध्यक्ष ओलीको चेतावनी

भुलचुकमा प्रधानमन्त्री बनेका देउवाले हाल गरेका निर्णय वामपन्थी सरकारले उल्ट्याउने एमाले अध्यक्ष ओलीको चेतावनी

दमक (झापा), मंसिर १६ गते ।  झापाको दमकमा शुक्रबार आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भुलचुकमा प्रधानमन्त्री भएका देउवाले आचारसंहिता विपरित गरेका दुरगामी असर पार्ने निर्णय वामपन्थी सरकारले खारेज गर्ने चेतावनी दिएका छन् ।

उनले यसरी गरेका निर्णय अव बन्ने बामपन्थीको सरकारले एकमुष्ट उल्ट्याउनसक्ने भएकाले त्यसतर्फ पनि ध्यान दिन प्रधानमन्त्री देउवालाई सचेत गराए । लोकतन्त्रलाई कांग्रेसले मागि खाने भाडो मात्र बनाएको भन्दै ओलीले कम्युनिष्टहरुले नै लडेर ल्याएको लोकतन्त्र र संविधानको कांग्रेसलाई भन्दा बढि माया पनि लागेको बताए ।
सम्बोधनका क्रममा सरकार र प्रधानमन्त्री देउवाप्रति निकै आक्रोशित बनेका अध्यक्ष ओलीले संविधान जारी गर्न नै नमानेको कांग्रेसलाई एमाले र माओवादीले घिसारेर र लतारेर मात्रै संविधानमा हस्ताक्षर गर्न लगाएको भन्दै त्यस्तो कांग्रेस र त्यसका नेताहरुले अहिले कम्युनिष्टहरु संविधान नै मान्दैनन भनेर भ्रमको खेति गरिरहेको आरोप लगाए ।

भने ‘ संविधान बनाउनै नदिने, बनाए जारी गर्न नै नदिने अवस्थामा पनि हाम्रै बलले सवै जातजाती, भाषाभाषी, वर्ग समुदाय र लिङगको पहिचानसहितको संविधान जारी भएको हो । यो संविधान जारी गर्दा कांग्रेस नै मानेको थिएन, हामीले घिसारेर ल्याएर हस्ताक्षर गरेका हौ । तर, कांग्रेस नै अहिले नेपालका कम्युनिष्टहरु यो संविधान नै मान्दैनन् भनेर डंका पिटिरहेका छन् यो भन्दा लाजमर्दो कुरा के हुन्छ ?’

संविधान जारी भएपछि नेपाल सामाजिक सद्भावसहित एकताको बाटोमा फर्किएको भन्दै ओलीले सवै जातजाती अहिले एक भएको पनि बताए । ‘जातजातीका नाममा हुदै आएका झगडा अव अन्त्य भएका छन् ।’

केहीले संविधानको विरोध गरेपनि नबुझ्नेहरुले मात्र त्यस्तो गर्ने गरेको भन्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले दिल्लीका लागि संविधान संशोधन हुन नसक्ने ठोकुवा गरे । उनले नेपाल र नेपालीका लागि आवाश्यक ठाउँमा संविधान संशोधन गर्न एमाले तयार रहेको भन्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भोटका लागि भ्रमपुर्ण कुरा गरिरहेको भन्दै उनका कुरा जनताले पत्याउनै छाडेको बताए ।

शेरबहादुरले संविधान संशोधन गर्छु भन्दै भाषणबाजी गरेपनि संविधान संशोधन उनको बर्कत बाहिरको कुरा भएकाले संविधान संशोधन गर्न दुई तिहाइ सांसद चाहिने कुरालाई विर्सेर त्यस्तो कुरा गरिरहेको ओलीले बताए । भने ’संविधान संशोधन देउवाले कसरी गर्नुहुन्छ जवकी दुई तिहाई बामपन्थीको आउदैछ । अनि उहाँले संशोधन गर्छु भन्नुहुन्छ जनताले कसरी पत्याउने ? ’

प्रधानमन्त्री देउवा चुनावको अघिल्लो दिनसम्म पनि नचाहिने काम गरिसक्ने योजनामा रहेको ओलीले सुनाए । ‘ सरकारबाट अनैतिक र दीर्घकालिन निर्णयहरु भएका छन् । यस्ता दुरगामी महत्वका निर्णय गर्ने बेला होइन, आचारसंहिता विपरितका काम किन कांग्रेस गर्दैछ ? किन सरुवाबढुवा गर्दैछ कांग्रेसलाई सम्झाउन चाहान्छु भोली बन्ने सरकारले एकमुष्ट यी निर्णय परिवर्तन गर्नुनपरोस् ।’

आफुहरुले लडेर ल्याएका अधिकारलाई संस्थागत गर्ने संविधानको पुर्ण अव कार्यन्वयन गर्ने जनताको अधिकार, अवसर, सुरक्षा र सम्मान गर्ने संविधानको परिकल्पना भएकाले कम्युनिष्टले त्यहि अनुसार काम गर्दै जाने योजनाअनुसार एमाले र माओवादीको एकीकरण गर्न जरुरी रहेको ओलीले प्रश्टयाए ।
‘अव कस्तो सरकार बनाउने जनताका हातमा छ । त्यसका लागि त्यस्तै संसद चाहिन्छ राष्ट्रिय स्वाभमिानको रक्षा गर्न त्यहि किसिमको संसद बन्नुपर्छ । लोकतन्त्रलाई ठगि खाने भाडो बनाउने नभई राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनसहितको विकास गर्ने सरकार चाहिन्छ । त्यस्तो सरकार बामपन्थीको नेतृत्वमा मात्रै सम्भव छ ।’

संसद भंग गर्ने, दरवारमा बुझाउने काम कम्युनिष्टले कहिल्यै नगरेको बरु देउवाले नै गरेको स्मरण गर्दै उनले चुनाव नगराउने र राजालाई बुझाउने शेरबहादुर देउवा प्रमाणित मानिस नै भएको बताए । कांग्रेसले यसअघि बहुमत ल्याएपनि देशमा स्थायी शान्ति ल्याउन नसकेको भन्दै चुनावपछि एमाले माओवादी पार्टी एकीकरण भएरै छाड्ने दावी गरे । भने ‘ बामपन्थीहरु एकजुट भएर अगाडि बढ्छन ढुक्क हुनुस् । एमाले र माओवादी मिल्दा कांग्रेसले रुवाबासी गर्नुपर्ने कारण छैन ।’ सम्बोधनकै क्रममा ओलीले भने ‘ हामी बामपन्थी गठबन्धन उनिहरु(कांग्रेस) लोकतान्त्रिक गठबन्धन नभई दक्षिणपन्थी गठबन्धन हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया