समाचार हाइलाईट
Home / कला/साहित्य / दुई प्रतिशत शेयर नपाउँदैमा गौचनको हत्या भएको खुलासा

दुई प्रतिशत शेयर नपाउँदैमा गौचनको हत्या भएको खुलासा

काठमाडौं, मंसिर १७ गते । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतले डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि गौचनको हत्या गरेको बयान दिएका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कमिशनमा कुरा नमिलेपछि गौचनको हत्या गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डीआईजी पुस्कार कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए । बस्नेतलाई प्रहरीले चितवनबाट पक्राउ गरी ल्याएको छ ।

‘लेनदेनको विषयलाई लियर घटना भएको देखियो’ पत्रकार सम्मेलनमा कार्कीले बताए । उनका अनुसार हुलाकी मार्ग निर्माण ठेक्कामा बस्नेतले २ प्रतिशत कमिसन मागेका थिए ।

गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्ट्रक्सनकका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ (घैंटे) मार्फत २ करोड ५० लाख लिएको भन्ने खुलेको प्रहरीले जनाएको छ ।

घैंटेको केही वर्ष अघि प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ ।

उक्त रकममध्ये समीरमान सिंह बस्नेतको १ करोड भएको दाबी गरिएको र कुमार श्रेष्ठको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि समीरमान सिंह बस्नेतले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेका बयानमा भनेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म गौचन हत्यामा संलग्न मध्ये मुख्य योजनाकार बस्नेत, बसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेश कुमार पाण्डे र सन्तोष गुरुङ पक्राउ परिसकेका छन् ।

त्यसबाहेक मनोज पुन, लोप्साङ लामा, गंगा प्रकाश लिङदेन, श्याम गोम्बे गुरुङ, अमर बहादुर रानामगर, रोशन बुढाथोकी र अजय थापा फरार रहेका छन् ।

निर्माण व्यवसायी गौचनको गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो । प्रहरीले यसअघि गौचनको हत्यामा संलग्न सुटरसहित सात जना पक्राउ गरिसकेको छ । बस्नेतले स्वयम्भूलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया