समाचार हाइलाईट
Home / राष्ट्रिय / प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक हुँदै

प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन उत्साहपूर्वक हुँदै

काठमाडौं, मंसिर २१ गते । प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा उत्साहपूर्वक भईरहेको छ । आज बिहानै ७ बजेदेखि विराटनगरलगायत मोरङ, सुनसरी, झापा, सप्तरीसहित ४५ जिल्लामा मतदान भईरहेको छ । विभिन्न जिल्ला र क्षेत्रबाट शीर्ष नेताहरुले समेत मतदान गरिसकेका छन् । अधिकांश शीर्ष नेता र उम्मेद्वारहरूले आज पहिलो मतदान गर्दैछन्। माओवादी केन्द्रका अध्यक्ष एवम् बाम गठबन्धनका चितवन क्षेत्र नम्बर ३ उम्मेद्वार पुष्पकमल दाहालले मतदान गरिसकेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन्।
तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीस्थित सत्यवती माविको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् ।


मतदानपछि नेता पौडेलले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै यो निर्वाचन संविधान कार्यान्वय गराउन ऐतिहासिक दिन भएको बताए ।
‘देशमा दीगो शान्ति कायम गर्दै मुलुक अब आर्थिक समृद्धिको बाटोमा आगडि बढ्नेछ,’ उनले भने ।
मुलुकको राजीतिक संकटलाई अन्त्य हुने उनको दाबी छ । निर्भिक भई मताधिकारको प्रयोग गर्न सबै मतदातासंग नेता पौडेलले अनुरोधसमेत गरे ।

पूर्वसभामुख एवम् इलाम क्षेत्र नम्बर २ बाट वाम गठबन्धनका संयुक्त उम्मेदवार सुवास नेम्वाङले भर्खरै मतदान गरेका छन्। उनले इलाम सदरमुकामको बालमन्दिर केन्द्रबाट बिहान ७ बजे मतदान गरेका हुन्। मतदानपछि नेम्बाङले निर्वाचनले संविधान कार्यान्वयनमा ठूलो फड्को मारेको बताएका छन् । उनले  यो नेपालीका लागि हर्षको विषय  भन्दै संविधान जारी गर्ने सभाको अध्यक्षको हैसियतबाट धेरै खुशी भएको प्रतिक्रिया दिए।

गुल्मीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवम् एमाले नेता प्रदीप ज्ञवालीले मतदान गरेका छन्।

बम्घा निमावि मतदान केन्द्रबाट उनले बिहान ७:१० बजे मतदान गरेका हुन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया