Rashtriya Yuva Jagaran
Online Digital News

महिला हिंसाका घटनाका सम्बन्धमा प्रतिनिधिसभामा बहस, आशंकामा ७५ जना पक्राउ

  •  
  • 13
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं, १८ साउन २०७५ शुक्रबार । महिलालाई जति सवल बनाउने प्रयास स्वरुप विभिन्न क्षेत्रबाट काम भईरहेको छ त्यति नै महिला हिंसा सम्बन्धी घटना बढ्दै गईरहेका छन् । सामान्य महिलामाथि हुने घरेलु तथा बलात्कारका घटना त भईरहेकै अवस्थामा सांसद पद धारण गरेका महिलाले समेत हिंसा खेप्नु पर्दा महिला हिंसाको मुद्दाले प्रतिनिधिसभामा प्रमुखता पाएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसद पार्वत गुरुङले सांसद निरुदेवी पालमाथि राजधानीभित्रै भएको हमलाप्रति दुःख व्यक्त गर्दै त्यसविरुद्ध सत्ता पक्ष र प्रतिपक्षका सबै सांसद एकजुट हुनुपर्ने बताए ।
सांसद सुजाता परियारले दलित समुदायका उच्च शिक्षाको निम्ति छात्रवृत्ति प्रदान गर्नाका साथै आयमूलक काम सिकाउँदै आएको उत्पीडित समुदाय उत्थान विकास समिति बजेट र नीतिमा समेटिन नसकेको भन्दै गुनासो गर्दै भनिन्– सांसद निरुदेवी पालमाथि हमला गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न सरकारसँग माग गरिन् ।
सांसद आशाकुमारी विकले पछिल्लो समयमा ७ नं प्रदेशमा महिला माथिका जघन्य अपराधका घटना बढेको तथ्यांक प्रस्तुत गर्दै सुरक्षित रूपमा बाच्न पाउने वतावरण बनाउन सरकारसँग माग गरिन् ।
सांसद पालमाथि भएको आक्रमणबारे सदनलाई जानकारी
बैठकमा सत्तारूढ दल नेकपाकी सांसद निरुदेवी पालले यही साउन १५ गते राति दोकानमा दुध किन्न जाँदा आफूमाथि मध्य बानेश्वरमा आक्रमणको प्रयास भएको जानकारी दिएकी थिइन् ।
पालले दूध लिने क्रममा कोठाबाट पसल गएर फर्कंदै गर्दा बाटोमा रहेको एक व्यक्तिले छेकेर पेस्तोल देखाई तर्साउन खोजिए पनि दुर्घटना हुनबाट आफू जोगिएको विवरण पेश गर्दै भनिन–रेनकोट लगाएको उक्त व्यक्तिले सुनुवाई समितिको भोलिको बैठकमा भाग लिइस् भने प्रधानमन्त्रीले पनि बचाउन सक्दैन भनेर धम्की दिएको र आफूले यस घटनालाई पृथक ढंगबाट हेरेको समेत बताईन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डिला संग्रौलाले सांसद निरुदेवी पालमाथि भएको घटनाको निन्दा र भत्र्सना गरिन् । संग्रौलाले भनिन–, “यो घटनाको छानबिनका लागि समिति गठन गरियोस्, हामी सबै सांसद असुरक्षाको घेरामा छौँ, सांसदको सुरक्षा दिन नसक्ने सरकारले आम जनताको सुरक्षा दिन सक्दैन भन्ने कुरा पुष्टि भएको छ र सरकारले जनतालाई मूल्य वृद्धिको उपहारबाहेक अरूलाई केही दिन नसकेको समेत आरोप लगाईन ।
सांसद अतहर कमाल मुसलमानले राजधानीमा सांसद नै सुरक्षित भएको महशुस गर्न सक्दैन भने जनता कसरी सुरक्षित होलान् भन्दै यसबारे गृहमन्त्रीको जवाफ आउन आवश्यक रहेको धारणा राखे । सांसद मुसलमानले भने– “सरकारले सबै सांसदलाई सुरक्षाकर्मी उपलब्ध गराउन सक्छ कि सक्दैन, सक्दैन भने एक दुई जनालाई उपलब्ध गराउनुको के अर्थ रहन्छ, सरकारले आम जनतालाई सुरक्षाको उचित प्रबन्ध गर्न सकोस् ।
आशंकामा ७५ जना पक्राउ
प्रतिनिधिसभा सदस्य निरुदेवी पालमाथि भएको घटनामा संलग्नताको आशंकामा काठमाडौं प्रहरीले शंकास्पद ७५ जनालाई नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको परिसर प्रहरीले जनाएको छ।
काठमाडौं परिसरले उपत्यकाभित्र रहेका सानाठूला सबै तहका ‘गुन्डा’ लाई निगरानीमा बढाएको छ । सांसद पालले साउन १५ गते साँझ दूध किनेर फर्कंदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी थिइन्। त्यसलगत्तै सरकारले घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । पाल संसदीय सुनुवाइ समितिकी सदस्य हुन्। सरकारले बुधबारदेखि संसदीय सुनुवाइ समितिका सबै सदस्यलाई अंगरक्षक उपलब्ध गराएको छ। १५ सदस्यीय समितिका सातजनाले अंगरक्षक लिएका छन् अरुले लिएका छैनन्।

Leave A Reply

Your email address will not be published.