Rashtriya Yuva Jagaran
Online Digital News

विशेष महत्वका साथ एक नम्बर प्रदेशको विराटनगरमा श्रीकृष्ण रथयात्रा, हेलिकप्टरबाट पुष्पगुच्छा बसाईने

  •  
  • 72
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

विराटनगर (मोरङ), १८ भदौ २०७५ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिंदै आएको राधाकृष्ण रथयात्राको दिन सोमबार प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले सरकारले बिदा दिने निर्णय गरेको बताए।
प्रदेश सरकारको निर्णयअनुसार प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय तथा स्थानीय तहले बिदा मनाएका छन्।
विगत ५१ वर्षदेखि लगातार निकालिंदै आएको रथयात्रालाई दक्षिण एसियाकै ठूलो मानिन्छ। आयोजक समितिका संयोजक बाबुराजा ओझाले रथयात्राको सबै तयारी पूरा भएको जानकारी दिएका छन्। यो पटक रथलाई घोडाले समेत तान्ने व्यवस्था मिलाइएको छ।
ओझाले भने, ‘धार्मिक र जातीय झाँकीसहित तीनपैनी चौकबाट अपरान्ह निस्कने रथयात्राकै सन्दर्भ पारेर हेलिकप्टरबाट पुष्पवृष्टि पनि गराउँदै छौं।’ प्रदेश १ का मु्ख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने तयारी रहेको रथयात्रामा सहभागी हुन सीमावर्ती भारतीय क्षेत्रका सहरबाट समेत भक्तजनको घुइँचो लाग्ने गरेको छ।
तीनपैनीबाट सुरु हुने रथयात्रा प्रदेश १ को अस्थायी राजधानी विराटनगरको मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, शनिमन्दिर चोक हुँदै  बरगाछी पुगेर पुनः तीन पैनीस्थित राधाकृष्ण मन्दिरमा पुगेर समापन हुनेछ। रथको डोरी छोएर तान्दा दुःख हरणका साथै सुख मिल्ने जनविश्वास रहिआएको छ।
विराटनगरमा खटयात्राबाट सुरु भएको राधाकृष्ण रथयात्रा पछिल्लो समय सबै समुदायलाई जोड्ने सांस्कृतिक पर्वकै रुपमा विकास भएको विराटनगर महानगरका मेयर भीम पराजुलीले बताए। उनले भने,‘यसमा हुने उपस्थितिले पनि यो संस्कृति भई सकेको छ भन्ने पुष्टि भएको छ ।’
ड्रोनबाट सुरक्षा निगरानी
निकै ठूलो घुइँचो अनि भींडभाँड हुने भएकोले प्रहरीले यो पटक सुरक्षाका लागि विशेष ठाउँहरुमा ड्रोन क्यामेराको मद्दत लिई निगरानी गर्ने व्यवस्था मिलाएको छ। मोरङ प्रहरी प्रमुख मनोज केसीले भने, ‘धेरै भींड हुने ठाउँहरुमा ड्रोन क्यामेराले निगरानी गरी विशेष ठाउँबाट त्यसो भिडियो हेर्ने व्यवस्था मिलाएका छौं।’ उनले हुलहुज्जत हुन नदिने र त्यसमा संलग्न हुनेलाई तत्काल पक्राउ गरिने जानकारी दिए।

अन्नपूर्ण पोष्टबाट

Leave A Reply

Your email address will not be published.