Rashtriya Yuva Jagaran
Online Digital News

बलात्कार विरुद्ध सय दिने सञ्चार अभियान : आत्मरक्षाका तालिम, पुस्तकदेखि सञ्चार र फाँसीको सजायसम्म

  •  
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares

युवा जागरण डेक्स
विराटनगर (मोरङ), २३ भदौ २०७५ । दिन दिनै आफन्तदेखि टाढासम्म परका देखि छिमेकीसम्मका व्यक्तिबाट ६ महिने बालकदेखि देखि ६० नाघेका बृद्ध महिलासम्म बलात्कार हुन थालेपछि नेपाली समाज निकै आतंकित बनेको छ ।
स्कुल गएका नानीहरु, कलेज गएका छोरीहरु र दैनिक काममा गएका महिलाहरु कति खेर घर फर्कने हुन कि होइन, को कहाँ बलात्कारको शिकार बन्ने हुन कुनै पत्तो हुँदैन । जो, जहाँ जस्तो सुकै अवस्थामा पनि बलात्कृत हुन सक्ने दृष्टान्त विगतका बलात्कारका घटनाले देखाईसकेका छ । हुन त अधिकांश आजकलका बलात्कारका घटनामा घरभित्रैबाट बाबु, काकालगायत नातेदारहरुबाट बलात्कृत भईरहेको अवस्थामा बाहिर गएका नानी, छोरीचेली र महिलाहरुको त कुरै बेग्लै भईसक्यो ।
यस्तो भयानक, दर्दनाक अवस्थामा देशमा बलात्कारका विरुद्धमा केही गाउँ गाउँ, टोलटोलमा यसका विरुद्धमा आवज उठाउनु पर्ने आवश्यकतालाई ध्यानमा राखेर सञ्चार जगतले एउटा अभियान चालेको छ ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन)ले बलात्कारका विरुद्धमा जचेतना जगाउन सय दिने सञ्चार अभियान सुरु गरेको छ ।
‘बलात्कार विरुद्ध मेरो प्रतिवद्धताः दुर्व्यवहार गर्दिन, दुर्व्यवहार सहन्न’ भन्ने नारासहित एक कार्यक्रमकाबीच अभियानको शुक्रबार घोषणा गरिएको हो ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष सुवास खतिवडाले बलात्कारका विरुद्ध देशभरिका सामुदायिक रेडियोसँगको सहकार्यमा सीआईएनले आवाज उठाउँदै आए पनि बलात्कारका घटना न्यूनीकरणका लागि विशेष अभियानको आवश्यक्ता महसुस गरिएको बताए ।
सीआईएनको सभाकक्षमा भएको कार्यक्रममा सीआईएनका म्यानेजर दीपक आचार्यले देशभरि बालिका बलात्कारको घटना बढ्दै गएकाले बलात्कार विरुद्ध चेतना जगाउनुपर्ने आवश्यकता देखिएकाले विशेष अभियानको सुरुवात गरिएको बताए ।
प्रतिनिधिसभाका सदस्य शशी श्रेष्ठले सबै जना मिलेर बलात्कार विरुद्ध सचेतना जगाउनुपर्ने धारणा राख्दै बलात्कार विरुद्ध चेतना जगाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राखे । श्रेष्ठले पाठ्यक्रममा पनि नै महिला हिंसा विरुद्धका सामग्री समावेश गर्नुपर्ने तर्क गरे। संसदबाट निरन्तर रूपमा बलात्कार विरुद्ध बोलिरहेको बताउदै सांसद श्रेष्ठले बलात्कार विरुद्ध भएको कानुनलाई कार्यान्वयन गराउनमा भूमिका खेल्ने प्रतिवद्धता समेत जनाए ।
प्रतिनिधिसभाका सांसद मिनाक्षी झाले बलात्कार विरुद्धको ऐन कानुन भए पनि कार्यान्वयनको पाटो फितलो भएकाले बलात्कारका घटना कम हुन नसकेको बताए । सडक र सदन दुबैतिरबाट बलात्कार विरुद्धमा आवाज उठाए यस्ता घटना कम हुने झाको विश्वास थियो ।
मनोचिकित्सक डाक्टर पशुपति महतले बलात्कारका समाचार लेख्दा र प्रसारण, प्रकाशन गर्दा पत्रकारले पनि ध्यान दिनुपर्ने धारणा अगाडि सारे । बलात्कारका घटना कम गराउनको लागि पीडितलाई मात्रै नभई पीडकहरूलाई पनि परामर्श दिनुपर्ने बताए । अर्का मनोविद तथा अधिवक्ता नानी थापाले बलात्कार विरुद्धका कानुनहरूका बारेमा सञ्चार माध्यमले प्राथामिकताका साथ सूचना तथा जानकारीहरू दिनुपर्ने टिप्पणी गरे ।
सञ्चार माध्यमहरूले पीडितका कुरा मात्रै भन्दा पनि पीडितले न्याय पाएको र पीडकले सजाय पाएका विषय पनि समावेश गर्नुपर्ने औंल्याए । कार्यक्रममा कुरुदय सेल्फ डिफेन्स मार्सल आर्ट्का महासचिव सुरेन्द्रसिंह बिष्टले अलिकति तालिम लिए महिला तथा बालबालिकाले आफ्नो सुरक्षा आफैँ गर्न सक्ने भएकाले सञ्चार माध्यमले आत्मरक्षाका त्यस्ता तरिका सिकाउन पनि भूमिका खेल्नुपर्ने सुझाव पेश गरे ।
कार्यक्रममा बलात्कार विरुद्धको अभियान्ता साबित्री सुवेदीले साना नानीदेखि वृद्धाहरु पनि बलात्कार हुनु दुःखद भएको भन्दै बलात्कार विरुद्ध प्रहरी, सांसद र पत्रकारले भूमिका खेल्नुपर्ने उल्लेख गरिन् । बलात्कारीलाई फाँसीको सजाय हुने व्यवस्था नबनेसम्म बलात्कारका घटना कम नहुने भन्दै सुबेदी तथा अभियन्ता अर्का अभियान्ता जस्मिन ओझाले बलात्कारीलाई फाँसीको सजायको व्यवस्था हुुनुपर्ने धारणा राखिन् ।
अर्का अभियानता सन्ध्या विडारीले महिला तथा बालबालिकालाई हेर्ने पुरातनवादी सोच नबदलेसम्म बलात्कारका घटना कम नहुने धारणा राखिन् । महिलाअधिकारकर्मी रिता साहले बलात्कारका घटना कम गर्न पाठ्यक्रममा नै यस्ता विषय समावेश गरी सानो उमेरदेखि नै यसबारेमा जानकारी राख्नुपर्ने धारणा अघि सारिन ।
कार्यक्रममा सहभागी पत्रकार, सांसद,अधिकारकर्मी, मनोचिकित्सकलगायतले बलात्कार विरुद्धको यो अभियानमा आ–आफ्नो क्षेत्रबाट साथ दिने प्रतिवद्धता जनाएका छन् । अभियानमा बलात्कार विरुद्ध सचेतना कार्यक्रम चलाउने, बलात्कार विरुद्धका कानुनहरु रेडियोबाट प्रसारण गर्ने, स्थानीय तहका जनप्रतिनिधिदेखि संघीय संसदका सांसदहरुलाई बलात्कार विरुद्धको प्रतिवद्धता लिने सीआईएनका म्यानेजर आचार्यले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.