Rashtriya Yuva Jagaran
Online Digital News

छोरी मात्रै भएका परिवारलाई प्रोत्साहन

  •  
  • 37
  •  
  •  
  •  
  •  
  •  
    37
    Shares

युवा जागरण संवाददाता
ओखलढुंगा, २३ भदौ २०७५ । सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, जिल्ला स्वास्थ्य कार्यालय हुँदै प्रदेश र स्थानीय निकायहरुले महिलाका समस्याहरुलाई न्युनिकरण गर्दै सामाजिक विभेद, कुसंस्कार, गलत चालचलनको अन्त्यका लागि विभिन्न प्रकारका सेवा सविधा प्रदान गर्दै आएका छन् । महिला एकलभत्ता, सुत्केरी भत्ता, ६ महिना बिदालगायत विभिन्न सुविधाहरु उपलब्ध गराउन कँही प्रक्रियामा छ त कहिँ प्रदान गर्न थालिसकिएको छ ।
यसै प्रसंगमा पछिल्ला दिनमा छोरीमात्र हुने परिवारलाई पनि प्रोत्साहन गर्न सम्मानसहित समाजमा बस्ने वातावण मिलाउने अभियानमा स्थानीय निकाय लागेका छन् ।
घरघरमा छोरीको विषयमा, बुहारी र आमाको विषयमा अनगिन्ती समस्याहरु खडा भएपछि यतिखेर स्थानीय निकायले तमाम महिलाका समस्या समाधानका निम्त स्थानीय स्तरबाटै छोरी मात्र भएका परिवारलाई प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ ।
उदाहरणीय रुपमा यसरी छोरीलाई मात्र प्रोत्साहन गर्ने नगरपालिकामा पूर्वी पहाडी जिलला ओखलढुंगाको सिद्धिचरण नगरपालिका परेको छ।
नगरपालिकाभित्र रहेका दुई वा दुई भन्दा बढी छोरीमात्र भएका परिवारलाई प्रोत्साहन तथा सम्मान गर्ने गरी नगरपलिकाले नीति तथा कार्यक्रम ल्याएरउदाहरणीय कार्य गरेको छ ।
विशेष गरेर छोरीका समस्याहरु धेरै छन् । छोरीहरुलाई प्रोत्साहन त हरेक क्षेत्रबाट जरुरी नै छ यद्यपि हामीले अहिलेको प्रोत्साहन चाहि छोराको आवश्कता बढी सम्झेर छोरीलाई गर्भबाटै हत्या गर्ने परिपाटीको अन्त्यको लागि गरेका हौ– नगरउपप्रमुख ईच्छा कुमारी गुरुङ भन्छिन् । उनका अनुसार समुदायमा छोरी भएकै कारण हिनताबोध गर्ने अवस्थालाई निरुत्साहित गर्न यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्छ भन्ने हाम्रो ठम्याई रहेको बताईन् ।
यो नीतिले छोरी जन्माएकै कारण हिंसामा पर्नुपर्ने महिलाको समस्या न्यूनिकरण हुने अपेक्षा पनि राखिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए ।
‘छोरा जन्माए सुत्केरीलाई राँगा काटेरै खुवाउने तर छोरी जन्माए गुन्द्रुक पनि समयमा नखुवाउने चलन छ, त्यसलाई अन्त्य गर्ने हाम्रो लक्ष्य हो ।’ नगरप्रमुख श्रेष्ठको कथन छ ।
एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा सिद्धिचरण नगरपालिकाले पहिलो पटक छोरीमात्र भएको परिवारलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।
नगरपालिकाको नीति तथा कार्यक्रम अन्तरगत सामाजिक सुरक्षा शिर्षक अन्तरगतको ९ नम्बर बुँदामा यो कार्यक्रमलाई समेटिएको छ ।
छोरी मात्र भएका परिवारलाई प्रोत्साहन तथा सम्मान कार्यक्रम स्वागत योग्य भएको स्थानीयले प्रतिक्रिया दिएका छन् ।

Leave A Reply

Your email address will not be published.