Rashtriya Yuva Jagaran
Online Digital News

ऋषि पञ्चमी अर्थात् रजस्वलाबाट भएका गल्तिमा नारीहरुले क्षमा माग्ने दिन

  •  
  • 170
  •  
  •  
  •  
  •  
  •  
    170
    Shares

युवा जागरण संवाददाता
विराटनगर, २९ भदौ २०७५ । आज भाद्रा शुल्क पञ्चमी । नारीहरुको रजस्वलासँग जोडिएको पर्व । महिलाहरुले नदी, खोला, तालतलैया र पोखरीहरुमा धुमधामले मनाउने गर्दछन् । आजको दिनको पर्व मनाउन महिलालाई बिदासमेत दिइएको छ । नेपाली नारीहरुले आज सप्त ऋषिको पुजा आराधना गरेर रजस्वला भएको बेला गरिएका गल्तिहरुलाई सच्याउँदै भगवानसँग क्षमा मागेर यो पर्व मनाउने गर्दछन् ।
नारीहरुले सबेरै उठेर नजिकैको स्नान गर्ने ठाउँमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास रहि आएको छ ।
नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा त्यस अवधिभर विभिन्न संज्ञा दिइने र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण यस पर्वका दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको पण्डित कमल दाहाल बताउँछन् ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरिने हुँदा यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमीका दिन भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।
महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्‍यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराइ बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो ।
यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित दाहालले जानकारी दिए ।
रजस्वला भएका बेलामा अरुलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद्प्राहरुको तर्क छ ।
रज भनेको फोहोर हो, जुन महिलामा मासिक धर्मका समयमा निस्कने गर्दछ र यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने कुरा अनुसन्धानले पनि पुष्टि गरेकाले यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अनुसन्धान गरिनुपर्नेमा सरोकारवालाहरुले भन्दै आएका छन् ।
आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाइ एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज सुनसरीको बराहक्षेत्र, पूर्वको माइल, इटहरीको बुढीगंगालगायत मोरङसुनसरी झापालगायत देशभरका विभिन्न खोला, नदी, पोखरी आदिमा विधिपूर्वक स्नान गरी पर्व मनाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.