काठमाडौं, २७ कात्तिक २०७५ । दशैं तिहार पर्व र प्रधानमन्त्री अस्वस्थ भएका कारणले लामो समयपछि बसेको आइतबारको बैठक बस्यो । तर उक्त बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएनन् । गणतन्त्र आउनु अगाडि राजाको शासनकालमा भएका मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गर्न २ दिन लाग्थ्यो । मन्त्रीपरिषद्ले निर्णय गर्ने र राजालाई देखाउनु वा सुनाउनु पर्ने प्रावधानले गर्दा उक्त निर्णयहरु हत्तपत्त सार्वजनिक हुँदैनथिए तर गणतन्त्रको स्थापनापश्चात तुरुन्तै सूचना सार्वजनिक गरेर जनताको सूचनाको हकको सुनिश्चित गरिएकोमा अहिले २ तिहाई बहुमतको सरकारले पनि सूचना सार्वजकि गर्न कन्जुस्याई गर्न थालेको छ । अझ व्यवस्थित गर्ने वहानामा आइतबारको सूचना बाहिर नल्याएको सरकारका प्रवत्ता तथा सञ्चार एवम् सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले पत्रकारलाई जानकारी दिए । उनले पत्रकारलाई भने–‘पत्रकार साथीहरू, अलि लामो समयपछि आज मन्त्रिपरिषद् बैठक बस्यो, धेरै विषयमा छलफल भयो, आवश्यक निर्णयहरू गरिएको छ, समयक्रममा तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ,’ उनले भने, ‘डिटेल दिन केही प्रबन्ध गर्दै छौं, फरक व्यवस्थासाथ आउँछौं होला ।’ यसअघि उनी बैठक सकिनेबित्तिकै बाहिर आएर सञ्चारकर्मीलाई निर्णय सुनाउँथे ।

यद्यपि सरकारका प्रवक्ताले निर्णय सर्वाजनिक नगरे पनि मन्त्रिपरिषद्का अन्य सदस्यले सञ्चारमाध्यमलाई निर्णयका सूचना चुहाए । सूचना बाहिर आइहाल्यो । तर सरकारले सूचना लुकाउन खोजेको भन्दै आलोचना भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Comment here