Rashtriya Yuva Jagaran
Online Digital News

एक नम्बर प्रदेशले अब विकासको रफ्तार बढाउने

विराटनगर, २७ चैत्र २०७५ । गत एक वर्षलाई आन्तरिक व्यवस्थापन, कानुन निर्माण र अनुभवको वर्ष मान्दै आएको एक नम्बर प्रदेश सरकारले नयाँ लाग्ने वित्तिकै विकासको रफ्तार बढाउने जमर्को गरेको छ ।
नयाँ वर्षसँगै राजधानीको नाम र राजधानी टुंग्याउँदै लगानी सम्मेलनको आयोजना गर्नेतर्फ एक नम्बर प्रदेशको ध्यान गएको प्रदेशका मुख्य मन्त्री शेरधन राई बताउँछन् । मुख्यमन्त्री राईका अनुसार एक नम्बर प्रदेशका विभिन्न स्थानमा रहेका महत्वपूर्ण दुई दर्जन आयोजनाहरूलाई समेटर एउटा परियोजना बैँक स्थापना गरी लगानी सम्मेलन गर्ने तैयारी थालेको हो ।
सोमबार प्रेस चौतारी र प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा बोल्दै उक्त कुरा बताएका हुन् ।
देशी र बिदेशी लगानीकर्ताहरूलाई बोलाएर प्रादेशिक लगानी सम्मेलन गरिसकेपछि एक नम्बर प्रदेशको विकासले फड्को मार्ने मुख्यमन्त्री शेरधन राईले बताए । मुख्यमन्त्री राईका अनुसार चालु वर्षभित्रै प्रदेशका मुख्य लगानीका क्षेत्रहरू पहिचान गरेर प्रदेश सरकारले योजनाहरू निर्माण गरी परियोजना बैँक स्थापना गर्नेछ । त्यसपछि उपयुक्त अवसर पारेर प्रादेशिक लगानी सम्मेनलको आयोजना गर्नेछ ।
सरकार बनेको एक वर्ष बितिसके पनि संरचनाको अभाव र कानून निर्माणको कारणले गर्दा विकासले गति लिन नसकेको एक नम्बर प्रदेश सरकारको गुनासो छ । तर, अब संरचना पनि निर्माण भैसकेको र अति आवश्यक कानून पनि बनिसकेकोले लगानी सम्मेलनपछि विकासले गति लिने मुख्यमन्त्री राईको विश्वास छ ।
मुख्यमन्त्री राई भन्छन्, ‘एकवर्ष हामी आन्तरिक समस्याले गर्दा विकासको गतिमा दौडन सकेनौँ, सुस्त भयौँ । तर, सचेत भएर हामीले बिस्तारै गति लिन थालिसकेका छौँ । लगानी सम्मेनलपछि हामी दौडने छौँ ।’
विराटनगरमा आयोजित उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले चालु अधिवेशन बैशाख पहिलो हप्तासम्म मात्र संचालन हुने र त्यत्तिखेरसम्म प्रदेशको नाम र राजधानीको मुद्दा किनारा लागिसक्ने बताएका हुन् ।
उनले राजधानी र प्रदेशको नामाकरण भएपनि सरकारलाई विकासको काम अगाडी बढाउन सहज हुने बताए ।
राष्ट्रिय पत्रकारिता दिवसमा अग्रज पत्रकार पुरस्कृत गर्ने
एक नम्बर प्रदेश सरकारले राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर अग्रज पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सरकारले घोषणा गरेको राष्ट्रिय पत्रकारिता दिवस २४ बैशाखका दिन प्रदेशका अग्रज पत्रकारलाई प्रदेश सरकारले विशेष पुरस्कारले सम्मानित गर्ने भएको हो ।
मुख्यमन्त्री शेरधन राईले पत्रकारिता दिवसका दिन प्रदेश सरकार आफैँले भव्य समारोह आयोजना गरेर प्रदेशमा बिशिष्ट योगदान दिने अग्रज पत्रकारलाई सम्मान गर्ने जानकारी दिए ।
पत्रकारहरुलाई पुरस्कृत गर्नका लागि गत बर्ष नै एक प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कार्यदल बनाएको थियो । तर, उक्त कार्यदलले प्रत्येक वर्ष विशेष अवसरमा प्रदेशका एक जना अग्रजलाई एक लाख र एक जना उदयमान पत्रकारलाई पचास हजार रुपैयाँको पुरस्कार दिने प्रस्ताव गरेपनि सरकारको चासो कम नदिँदा कार्यक्रम अगाडि बढ्न सकेको थिएन ।
यसैबीच एक नम्बर प्रदेश सरकारले प्रदेशको पत्रकारिता विकासको लागि आम सञ्चार प्रतिष्ठान गठन गर्ने नीति कार्यक्रममा घोषणा गरेपनि अझै काम अगाडि बढ्न सकेको छैन । प्रतिष्ठान स्थापनका लागि सरकारले कार्यदल गठन गरेर बजेट बिनियोजन गरेपनि सरोकारवाल मन्त्रालयले चासो नदिँदा प्रतिष्ठान निर्माण कार्य अलपत्र परेको हो ।
यद्यपि, मुख्यमन्त्री शेरधन राईले प्रदेशको सञ्चार क्षेत्रको विकास लागि कानून निर्माण गर्न र प्रतिष्ठान गठन गर्न सरकार प्रतिबद्ध भएको बताउँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.