रायुजा डेक्स
विराटननगर, २५ वैशाख २०७५ । ३ सय ६५ दिन मध्येको सबैभन्दा उत्तम दिन अक्षय त्रितिया । भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै अक्षय तृतीया घरघरमा, मठमन्दिरमा मनाइँदैछ । शिव–पार्वतीको विवाह भएको दिन पनि आजै हो । भगवान् विष्णुको सातौँ अवतारका रुपमा परशुरामको जन्म जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो । आजकै दिनदेखि त्रेता युगको शुरुआत भएको मानिन्छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ।
वैशाख शुक्ल तृतीयाका दिन मनाइने यो पर्वमा सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौ र चनाको सातु, सक्खर र चिसोपानीमा बनाइएको गुलियो सर्बत खुवाउने हिन्दू परम्परा छ ।
अक्षय तृतीया भनिने यस पर्वमा गर्मीले आकुल–व्याकुल भएका पथिक (बटुवा) लाई शीतलता दिने जौ र चनाको सातु, सक्खर, चिसोपानीमा बनाइएको सर्बत र मिष्ठान्न परिकार खुवाएमा अक्षय (कहिल्यै नाश नहुने) पुण्य प्राप्त हुने जनविश्वास छ । यस पर्वमा गरीब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्बत राखिएको घडासहितै दान गर्ने परम्परासमेत छ।
अक्षय तृतीया पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कुलपुरोहित तथा गरीबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गरे कहिल्यै भण्डार खाली नहुने भविष्य पुराणमा बताइएको पुरोहितहरु बताउँछन् ।
गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्बत र पुष्टिवर्धक अन्न जौको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको छ । सुख र समृद्धिको प्रतीक हुनका साथै यो पर्वले स्वास्थ्य सन्देश दिएको बताइन्छ । यस पर्वले मौसमअनुसार पुष्टिवर्धक भोजन गर्न सन्देश दिनुका साथै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देशसमेत दिएको बुढापाका बताउँछन् ।
पर्वमा कुलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्ठान्न खाद्य परिकार र दक्षिणा दिएर आफू र परिवारले जीवनमा शीतलताको कामना गर्दै जौ, चनाको सातु र सर्बत खाएर यो पर्व समापन गरिनेचलन छ । भगवान शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीको अन्नप्रासन र विवाहलगायतका शुभकार्यका लागि अर्को साइत हेर्न नपर्ने हिन्दू मान्यता छ ।

Comment here