Rashtriya Yuva Jagaran
Online Digital News

बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन आउने

♦ चार वर्षमा सहकारी संख्या ५० प्रतिशतले घटाइने  ♦ सहकारीले विश्वविद्यालय स्थापना गर्ने
रायुजा संवाददाता
काठमाडौं, ३० वैशाख २०७६ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले चार वर्षभित्र नेपालमा सञ्चालित सहकारी संस्थाको संख्या ५० प्रतिशतले घटाइने बताएकी छिन् । बृहत् दोलखा सहकारी सम्मेलनमा बोल्दै मन्त्री अर्यालले सहकारीको संख्या अत्यधिक भएकाले घटाउनु आवश्यक रहेको बताएकी हुन् । सहकारीको संख्या धेरै हुँदा नियमनमा कठिनाइ भएकाले पनि एकीकरण गर्नु आवश्यक रहेको उनले बताइन् । मन्त्री अर्यालले सहकारी संस्थाले महिला लक्षित कार्यक्रम ल्याउनुपर्ने बताइन् । सहकारीमा महिलाको संख्या अधिक रहेको बताउँदै महिला लक्षित योजना ल्याउन उनले सहकारीलाई सुझाब दिइन् ।
दोलखाको चरिकोटमा सम्पन्न सम्मेलनले १० बुँदे घोषणापत्रसमेत जारी गरेको छ । सम्मेलनले सहकारी संस्थाको संगठन, प्रशासन तथा आर्थिक प्रणालीलाई पारदर्शी, प्रतिस्पर्धी बनाउन सहकारीको मापदण्डमा एकरूपता ल्याउने घोषणा गरेको छ । त्यस्तै, आगामी आर्थिक वर्षदेखि सहकारी र स्थानीय तहबीच संयुक्त रणनीति तयारी गर्ने, जिल्लाका सहकारीमा कर्मचारी व्यवस्थापन, सेवा सुविधालगायतमा एकरूपता कायम गर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ ।
बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन
बचत तथा ऋण सहकारी संस्थालाई नियमन गर्न छुट्टै ऐन निर्माण गरिने भएको छ । सम्मेलनमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बचत तथा ऋण सहकारीलाई नियमन गर्ने छुट्टै ऐन निर्माण गर्न समिति गठन गरिएको बताइन् । ‘गाउँ–गाउँमा बचत तथा ऋण सहकारी धेरै खुले । समस्या त्यहीँबाट सुरु भयो,’ उनले भनिन् ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले समग्र सहकारीको विकास लागि सहकारी ऐन ०७४ लाई परिमार्जन गर्नुपर्ने बताएका छन् । सम्मेलनमा बोल्दै उपाध्यक्ष कँडेलले निजी क्षेत्र, सरकारी र सहकारी सँगसँगै हिँड्नुपर्ने बताए । सहकारीमैत्री कानुन बनाएर सहकारीमार्फत बहुआयामिक गरिबी हटाउनुपर्ने उनले सुझाब दिए ।
सहकारीले विश्वविद्यालय स्थापना गर्ने
दोलखामा सञ्चालित सहकारी संस्थाले विश्वविद्यालय स्थापना गर्न सक्ने क्षमता भएको दोलखा जिल्ला सहकारी संघका अध्यक्ष एव्ं बृहत् दोलखा सहकारी सम्मेलनका संयोजक हेमन्त चौलागाईंले बताए । सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौलागाईंले दोलखाको सहकारी अभियान दिन प्रतिदिन बृहत् हुँदै गएको बताए । ‘दोलखाको सहकारी अभियानलाई अब मोबाइलको क्यामेरामा कैद गर्न सकिँदैन । ड्रोन क्यामेराका आवश्यकता पर्ने भएको छ,’ उनले भने । सहकारीलाई हुनेखानेको संस्था हो भन्ने केही नकारात्मक भ्रम रहेको उनले बताए । तर, दोलखामा सञ्चालित सहकारीले सबै व्यक्तिलाई समेट्न सफल भएको बताए । ‘सहकारीप्रति दोलखावासीको विश्वास छ,’ उनले भने ।
नयाँ पत्रिकाबाट

Leave A Reply

Your email address will not be published.