Rashtriya Yuva Jagaran
Online Digital News

बुद्धसँग सम्बन्धित तीन संयोग जुरेको अवसरमा बुद्धजन्मोत्सव त्रिदिवसीय मनाइने

रायुजा संवाददाता
जनकपुर, ३० वैशाख २०७६ । यस वर्ष बुद्धसँग सम्बन्धित तीनवटा संयोज जुरेकोले बुद्धको २६४३ औं जन्मोत्सवलाई त्रिदिवसीय विशेष रुपमा मनाइने भएको छ ।
विश्व शान्तिका महानायक भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र महापरिनिर्वाण (मृत्यु) भएको तीनवटा संयोग बैशाख पूर्णिमामा एकै पटक पर्ने भएकाले सो अवसरमा दिवस मनाउन लागिएको पत्रकार सम्मेलनमा आयोजकले बताएका छन् ।
आयोजकका अनुसार अहिंसा तथा शान्तिको कामनासहित बुद्धको जन्मोत्सव मनाइने भएको छ ।
अन्तर्राष्ट्रिय बुद्ध परियती उदय विहार तिलोत्तमा–४ डिङ्गरनगरको आयोजनामा हुने सो कार्यक्रम अन्तर्गत जेठ २ गते शान्ति ¥याली, जेठ ३ गते मंगलमैत्री कामना सहित पूण्यदान र जेठ ४ गते शान्तिदीप प्रज्वलन तथा दिवस मूल समारोहको आयोजना गरिने अन्तर्राष्ट्रिय बुद्ध परियती उदय बिहारका महासचिव यमबहादुर थापाले जानकारी दिए ।
जन्म, मृत्यु र ज्ञान प्राप्त एकै दिन वैशाख शुक्ल पूर्णिमा भएकाले २६४३ औं बुद्ध जन्मउत्सव, २६०८ औं बोधी ज्ञान लाभ तथा २५६३ औं महापरिनिर्वाण दिवस एकै दिन मनाउन लागिएको हो । वैशाख पूर्णिमालाई मध्यनजर गर्दै आज विहार परिसरमा सरसफाई गरिएको छ ।
हरिओम विकको संयोजकत्वमा स्थानीयवासीहरुको सहभागितामा सरसफाई गरिएको हो । दिवसकै अवसरमा विहारले लखनचोक चौराहदेखि योगिकुटी चोकसम्म मूख्य सडकका दायाँबायाँ पञ्चशील बुद्ध झण्डाहरु फहराएको छ । दिवसलाई सफल पार्न बुद्ध परियती युवा संघ, नेपाल मगर बुद्ध सेवा समाज तिलोत्तमा, रुपन्देही, कपिलवस्तु र नेपाल मगर संघ तिलोत्तमा रुपन्देहीले सघाइरहेको विहारका धनीराम थापाले बताए ।
तिलोत्तमा–४ डिङ्गरनगरमा रहेको विहार यस क्षेत्रमा रहेका थेरवादी बुद्धधर्म सम्पदा मान्नेहरुको आस्थाको केन्द्र हो । उक्त विहार विस। २०५९ सालमा स्थापना गरिएको थियो । विहारमा ध्यान कुटी, सीमा गृह, धम्म हल, विपश्यना शिविर हल, आवाश गृह, पार्क लगायत संरचनाहरु निर्माण गरिएका छन् । उदय विहारले कक्षा १ देखि १० सम्म परियती शिक्षा समेत सञ्चालन गर्दै आइरहेको छ भने दर्जनौ बालबालिकाहरुलाई निशुल्क आवासको व्यवस्थासहित शिक्षा दिँदै आइरहेको छ ।
बुद्ध धर्मको तीनवटा सम्पदा थेरवाद, महायान र बज्रयान रहेका छन् । त्यसमा मगर, गुरुङसहित जापान, श्रीलंका, बर्मा र म्यान्मार लगायतका देशहरुमा थेरवादी सम्पदाका बुद्ध धर्म अनुयायीहरु रहेका छन् । जसमा बुद्धले दिएको शिल, शिक्षा र उपदेशलाई जस्ताको तस्तै पालना गर्ने गरिन्छ । शेर्पा, लामा र तिब्बतका बुद्ध धर्म अनुयायीहरु महायान सम्पदा अन्तर्गत पर्दछन् । महायानका अनुयायीहरु यसभित्र तन्त्रमन्त्रका कुराहरुलाई विश्वास गर्छन् ।

Leave A Reply

Your email address will not be published.