Rashtriya Yuva Jagaran
Online Digital News

विद्यालयको चरम लापरवाहीले चार बालबालिकाको निधन

काठमाडौं, २९ जेठ २०७६ । दार्चुला जिल्लाको नौगाढ गाउँपालिका(४ मा स्थापित गणेश विनायक माध्यमिक विद्यालयले शौचालय निर्माणमा गरेको चरम लापरवाहीका कारण चार बालबालिकाको मंगलबार ज्यान गएको छ । शौचालयको सेफ्टी ट्याङीको ढक्कनमाथि खेलिरहेका बालबालिका उक्र ढक्कन भाँसिएर ज्यान गएको हो । दिउँसो करिब साढे ४ बजेतिर सेफ्टी ट्यांकीको ढक्कनमाथि खेल्दै गरेका सोही गाउँपालिकाको १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको निधन भएको हो ।
सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाएको थियो । सोही मैदानमा खेल्दै गरेका ती बालबालिकाको ढक्कन भाँसिदा सेफ्टी ट्यांकीमा परी मृत्यु भएको स्थानीय प्रतापसिंह ठगुन्नाले बताए ।
ढक्कनमाथि राखिएको माटोसहित बालबालिका करिब १० मिटर तल खसेको थियो । ट्याङ्कीमा खसेर मृत्यु भएको बालबालिकाको उद्धार गर्न तीन घण्टा लागेको प्रहरी चौकी सिप्टीका इन्चार्ज देवदत्त भट्टले जानकारी दिए । ‘माटोसहित बालबालिका ट्याङ्कीमा परेको र वर्षा भएकाले बेलुका मात्रै ट्याङ्कीबाट शव निकालेर सनाखत गर्न सकियो,’ प्रहरीले जानकारी दिएको हो ।
घटनाको खबर सुन्ने बित्तिकै गोकुलेश्वर इलाका प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुरजबहादुर खड्काको टोली घटना स्थल पुगेको थियो । यसैगरी वडा अध्यक्ष नन्दनसिह धामी स्थानीय र प्रहरीसँगै उद्धारमा खटिएका थिए ।
दिउँसो घटना भएलगत्तै विद्यालय परिसरमा जम्मा भएका स्थानीयले कति बालबालिका ट्याङ्कीमा परे भन्ने छुट्याउन सकेनन् । स्थानीयहरु आफ्ना बालबालिका घरमा छन् कि छैनन् खोज्नतिर लागे ।
विद्यालयको निर्माणाधीन भवनको उपभोक्ता समिति अध्यक्ष रहेका कृष्णसिंह धामीकी कक्षा २ मा पढ्ने १० वर्षीय छोरी अनुस्का र उनका ४ जना साथीहरु खेलिरहेको स्थानीयले बताएका थिए । अनुस्कासहित सबै बालबालिको लाश पहिचान भएपछि गाउँ नै शोकमा डुबेको छ । ‘विद्यालय जान लागेका बालबालिका खेल्दाखेल्दै विद्यालय परिसरमै मृत्यु भयो, बच्चाहरूको निधन सपना जस्तै भएको छ,’ स्थानीय जयमति धामीले भनिन् ।

Leave A Reply

Your email address will not be published.