Rashtriya Yuva Jagaran
Online Digital News

दुहबी विद्युत ग्रीड जलमग्न भएपछि सञ्चार क्षेत्र प्रभावित

विराटनगर, २८ असार २०७६ । लगातारको वर्षासँगै आएको बाढीले नेपाल विद्युत प्राधिकरण दुहबी ग्रीडमा पानी जमेर जोखिम बढेको छ ।
प्रत्येक वर्ष सोरडमा पानी जमेर विद्युत अवरुद्ध हुँदै आएको थियो । नेपाल विद्युत प्रधिकरण दुहबी ग्रीडका अनुसार प्राधिकरणको १३२।३३ केभी दुहबी ग्रीड सब स्टेसन डुबानमा परेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण पानीको सतह बढेपछि सबस्टेसन जलमग्न भएको छ । सबस्टेसनमा पानी पुगेपनि सञ्चालनमा कुनै समस्या नरहेको तर पानी पर्ने क्रम नरोकिएकाले सेवा अवरुद्ध हुन सक्ने प्राधिकरण दुहबी ग्रीड शाखाका उज्वल नेपालले जानकारी दिए ।
उनका अनुसार सबस्टेसनको नियन्त्रण कक्षमा पानी नपसेकाले प्रसारण प्रणालीमा अहिलेसम्म समस्या आएको छैन । पानीको सतह निरन्तर बढिरहेको र एक दुई दिन अझै नियमित वर्षा भइरहे सबस्टेसन बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । दुई वर्षअघि पनि सबस्टेसन डुबानमा परेर नियन्त्रण कक्षमा पानी पस्दा सबस्टेसन बन्द भएको थियो । उक्त सबस्टेशन बन्द हुँदा मेची कोशीका सबै जिल्लामा विद्युत अवरुद्ध हुने दुहबी ग्रीड शाखाका नेपालले बताए ।
यसैबीच निरन्तर वर्षाका कारण विद्युतका पोल तथा टावरहरू ढल्ने, तार चुडिने वा भुँइमा लत्रने जस्ता अवस्था हुन सक्ने हुँदा दुहबी ग्रीडले सबैलाई सचेत, सजग र सुरक्षित रहन आग्रह पनि गरेको छ । त्यस प्रकारको अवस्था कहिकतै पाइएमा तत्काल नजिकको विद्युत प्राधिकरणको कार्यालयमा जानकारी गराइदिइ विद्युत दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा सहयोग गर्न पनि अनुरोध गरेको छ ।
महोत्तरीको बर्दिबास क्षेत्रमा बाढीका कारण अप्टिकल फाइबर बगेपछि पूर्वमा शनिबार बिहानैदेखि नेपाल टेलिकमका सेवाहरू अवरुद्ध भएका छन । टेलिकम सेवाअन्तर्गतका प्रिपेड र पोस्पेड टेलिफोनमा समस्या देखिएको छ । बर्दिबास क्षेत्रमा टेलिकमको अप्टिकल फाइबर बगाउँदा पूर्वी क्षेत्रमा टेलिफोन सम्पर्कमा समस्या आएको नेपाल टेलिकम धरान शाखाका लेखा अधिकृत दीपेन्द्र कोइरालाले जानकारी दिए ।
पूर्वका अधिकांश क्षेत्रमा टेलिफोन सेवामा समस्या आएको उनले बताए। समस्या समाधानका लागि प्रयास सुरु भइसकेको भए पनि अप्टिकल फाइबरको काम भएकाले समय लाग्ने कोइरालाले बताए। तर वैकल्पिक उपायका लागि प्रयास भइरहेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.