Rashtriya Yuva Jagaran
Online Digital News

प्रदेश १ सरकारले मृतकका परिवारलाई २ लाख राहत दिने निर्णय

विराटनगर, ३० असार २०७५ । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेका परिवारलाई प्रदेश–१ सरकारले तत्काल दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ। विराटनगरमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्यक परिवारलाई २ लाख दिने निर्णय गरेको हो।
प्रदेश सरकारले नियमित विपद् कोषमार्फत तत्कालको राहतस्वरुप मृतकका परिवारलाई रकम दिइने भएको हो। प्रदेश–१ मा बाढी र पहिरोका कारण धेरै ठूलो क्षति भइरहँदा अमेरिका भ्रमणमा रहेका मुख्यमन्त्री शेरधन राई विराटनगर आएलगत्तै आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाइएको थियो।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बाढी र पहिरोमा परेर घाइते भएकाको उपचार सरकारले निःशुल्क गर्ने बताए। विपद्मा भएको क्षतिको अवस्था र राहतका विषयमा आगामी मन्त्रिपरिषद् बैठकले थप निर्णय लिने समेत कार्कीको भनाइ छ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका कार्कीले बाढी र पहिरोमा परेर बेपत्ता भएकाको खोजीलाई थप प्रभावकारी बनाइने बताए। उनले बाढी र पहिरोका कारण अवरुद्ध रहेका सडक खुलाउन तथा पीडितहरुको उद्धार गर्न नेपाल र सशस्त्र प्रहरी तथा नेपाली सेना गरेर तीनवटै सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए। तीनवटै सुरक्षा निकायले समन्वय गरेर बाढी र पहिरोमा परेर हराइरहेकाको खोजी र पीडितहरुको उद्धार गरिरहेको उनको भनाइ छ।
प्रदेश–१मा बाढीपहिरोमा परेर आइतबार साँझसम्म २० जनाको मृत्यु भइसकेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी किशोर दाहालका अनुसार सबै भन्दा बढी भोजपुर र ओखलढुंगामा पाँच÷पाँच जनाको मृत्यु भएको छ। खोटाङमा तीन, उदयपुर र झापामा दुई÷दुई, इलाम, पाँचथर र सुनसरीमा एक/एक जनाको मृत्यु भएको एसएसपी दाहालको भनाइ छ। बाढीपहिरोमा परेर १६ जना घाइते र ९ जना बेपत्ता भएका छन्। बाढीपहिरोले चार हजार बढी परिवार प्रभावित भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.