Rashtriya Yuva Jagaran
Online Digital News

घुस लिएको वा मागेको सूचना आएको एक घण्टाभित्र कर्मचारीलाई कारवाही हुने मुख्यमन्त्रीको चेतावनी

जेठ १५ देखी प्रदेशमा कुनै टेण्डर, गोष्ठिहरु नहुने दाबी

विराटनगर, ०६ साउन २०७६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मातहतका सबै मन्त्रालय, निर्देशनालयका मुख्य कर्मचारीहरुलाई बोलाएर सोमबार घुसका विरुद्धमा कडा चेतावनी दिएका छन् । मुख्यमन्त्री राईले घुस लिएको वा मागेको सूचना पाएको १ घण्टाभित्र कारवाही गर्न आफू बाध्य हुने भएकोले अब आइन्दा घुस प्रकरणमा नमुछिन मात सबै निकायका कर्मचारीलाई सचेत गराए ।
भोजपुरमा प्रदेश सरकार मातहतको पूर्वाधार कार्यालयका प्रमुख घुससहित समातिएको, मन्त्रालयका प्रदेश सचिव र कार्यालयका प्रमुखहरुले घुस लिएको र माग्ने गरेको सूचना पाएपछि प्रदेश सरकारले डेढ वर्षमा पहिलो पटक आकस्मिक बैठक डाकेर घुस खाने र आचारविपरित कार्य गर्ने जोकोहीलाई कडा कारवाही गर्न आफू बाध्य हुने चेतावनी दिएका हुन् ।
मुख्य मन्त्री राईले आकस्मिक बैठकमा प्रदेश सरकारसँग कुनै अधिकार छैन र केही थाहा पाउँदैन र गर्न पनि केही सक्दैन भन्ने नठान्न आग्रह गर्दै एक नम्बर प्रदेशको इज्जत फाल्ने जो कोहीलाई आफूले छुट दिन नसक्ने चेतावनी दिए ।
प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचिव तथा कार्यालय प्रमुखहरु सहभागी भएको भेलामा मुख्यमन्त्री राईले आफूसँग घुस लिने दिने विषयमा पर्याप्त सूचना आएकोले नसच्चिएमा स्ट्रिङ अप्रेसन गराएर जेल पठाउन आफू बाध्य हुने जानकारी पनि गराए । माथि पठाउनुपर्छ भनेर घुस माग्ने गरेको आफूले थाहा पाएको भन्दै मुख्यमन्त्री राईले कर्मचारीहरुलाई चेतावनी दिँदै भने, ‘माथि भनेको कहाँ हो, को छ त्यसरी घुस लिने ?’
दिउँसै अड्डामा रक्सी पिएर फिटान भएर जाने, ठाडै घुस माग्ने, घुस संकलन गर्ने र पु¥याउने कार्य अत्यन्तै लज्जास्पद र घृणित कार्य हो भन्दै त्यस्तो गर्नेहरुले पनि अब व्यवहार सच्याउन आग्रह गर्दै मन्त्री राईले सबैलाई नोटिसमा राखेकोले कोही जोगिन नसक्ने बताए ।
आफू इमानको जगमा उभिएर नेतृत्व गर्ने र मन्त्री, पदाधिकारी र कर्मचारीहरुले पनि आफूलाई साथ दिनुपर्छ भन्दै मुख्यमन्त्री राईले भ्रष्टचारविरुद्ध आफू अब एग्रेसिभली अगाडि बढ्न बाध्य भएको सुनाए ।
मन्त्री राईले आफू कर्मचारीतन्त्र र विधिको शासनमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै एक नम्बर प्रदेशलाई एक नम्बरको बनाउने विश्वास र भरोसा कर्मचारीहरु नै भएको बताए । उनले देशमा पहिलोपल्ट संघीयता कार्यान्वयन गर्ने अवसरलाई सदुपयोग गरेर आफूलाई इतिहासमै स्मरण योग्य बनाउन कर्मचारीहरु लागिपर्नुपर्छ भने । मन्त्रि राईले भने, ‘स्वच्छ , समुन्नत प्रदेश बनाउने पाइलट, चालक तपाईंहरु नै हो यसैले पाएको अवसरलाई खेर जान नदिनुहोस ।’
मन्त्री राईले चालु आर्थिक वर्ष २०७६–०७७ को बजेट १५ जेठभित्रै व्यवस्थित रुपले खर्च गरिसक्न एक्सन प्लान भैरहेको बताए । उनले आगामी जेठ १५ देखी प्रदेशमा कुनै टेण्डर, गोष्ठिहरु नहुने दाबी गरे ।
प्रदेशका प्रमुखसचिव सुरेश अधिकारीले कार्यालय प्रमुखहरु घुषसहित समातिनु, रेड हुनु लज्जास्पद अवस्था सिर्जना भएको बताउँदै त्यसले प्रदेशको इज्जतमा धब्बा लागेको बताए । प्रमुख सचिव अधिकारीले भने, ‘सबै कर्मचारीको सयमा सय नम्बर आउने तर, कार्यालयको प्रगति भने ४० प्रतिशत मात्रै हुने यो मिल्ने विषय हैन यसैले अब मूल्यांकनलाई नै पुर्नमूल्याङकन गर्र्नु पर्ने बाध्यता आइपरेको छ ।’

koshionline

Leave A Reply

Your email address will not be published.