Rashtriya Yuva Jagaran
Online Digital News

तयारी अवस्थामा रहेका डेढलाख लाइसेन्स लिन सेवाग्राही नआएको विभागको दावी

भदौ ११ देखि मास प्रिन्टर सुरु हुने, दैनिक ६ हजार प्रिन्ट हुने दावी

रायुजा संवाददाता
काठमाडौं, १२ साउन २०७६ । यातायात व्यवस्था विभागले आगामी भदौ ११ गतेदेखि चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)मा देखिएको ढिलासुस्ती हटाउन मास प्रिन्टर सुरु गर्ने जनाएको छ । दैनिक ५ हजार देखि ६ जारसम्म प्रिन्ट हुन सक्ने सो प्रविधिबाट मात्र लाइसेन्सको चाड हट्न सक्ने विभागको ठम्याई रहेको छ । हाल दैनिक १० हजार स्मार्टको माग हुँदै आएको तर तयार भने २ हुने अवस्थाले निकै अन्योल बनाएको विभागका महानिर्देशक कुमारप्रसाद दाहाल स्वीकार गर्छन ।
यद्यपि विभाग तयार भएका डेढ लाख स्मार्ट लाइसेन्स लिन सेवाग्राही नआएको महानिर्देशक दाहालको भनाई छ । विभागका अनुसार प्रिन्ट गर्न बाँकी लाइसेन्समध्ये करिब डेढ लाख लाइसेन्स प्रिन्ट गरी तयार गरेको छ तर सेवाग्राही आएका छैनन् । एक महिना अघिदेखि डेढ लाख लाइसेन्स तयार गरी वितरणका लागि राखिएको छ । विभागले २०७५ पुस १६ गतेसम्म जारी तथा नवीकरण गरिएका स्मार्ट लाइसेन्स तयार भएको जनाएको छ ।
लाइसेन्स साउन १५ गतेसम्म विभागको कार्यालय नयाँबानेश्वर र साउन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट वितरण हुने विभागका महानिर्देशक दाहालले जानकारी दिए । दाहालका अनुसार सेवाग्राहीलाई विभिन्न माध्यमबाट सूचना दिँदा पनि आफ्नो सवारी चालक अनुमति पत्र लिन वेवास्ता गरेको देखिन्छ । उनका अनुसार अनलाइनमा खबर गर्दा सूचना गर्दा पनि लाइसेन्स लिन निक्कै कम आएको र कतै जानकारी नै नपाएर हो कि भनेर हामीले सार्वजनिक सूचना पनि जारी समेत गरेको बताए । प्रदेश ३ अर्थात् साबिकको बाग्मती अञ्चलमा मात्र डेढ लाख लाइसेन्स तयार छ तर बुझ्न आएका छैनन् । हाल देशभर ३४ वटा केन्द्रबाट देशभर लाइसेन्स वितरण गरिएको दाहालको भनाइ छ ।
२०७२ सालमा स्मार्ट लाइसेन्स कार्ड लागू गरेपछि प्रिन्टको काम बाँकी रहन थालेको हो । विभागका अनुसार हाल करिब दैनिक १० हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक दुई हजारप्रति मात्र प्रिन्ट गर्न सक्छ ।
लाइसेन्स वितरण तथा नवीकरणको काम प्रदेश सरकारको भए पनि प्रदेशहरूले काम सुरु गरेका छैनन् । रसिद लिएकालाई लाइसेन्सको तत्काल आवश्यक परे एकै दिनमा प्रिन्ट गरिदिने व्यवस्था छ ।
गोरखापत्रको सहयोगमा

Leave A Reply

Your email address will not be published.