Rashtriya Yuva Jagaran
Online Digital News

माटो अनुसारको बाली उत्पादन गर्न प्रदेश १ सरकारले ल्यायो माटो परिक्षणको घुम्ति प्रयोगशाला

रायुजा संवाददाता
पाँचथर १६ साउन २०७६ । प्रदेश नम्बर १ सरकारले माटो अुनसारका खाद्यान्न बाली उत्पादनमा जोड दिँदै गाउँ गाउँमा माटो परीक्षण गर्ने घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको छ । माटो परिक्षणको काम झुम्का र सुरुङ्गाबाट सुरु गरेको प्रदेश सरकारले बसमा जडान गरिएको २ वटा घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याएको भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रयोगशालाले गाउँ–गाउँ पुगेर कृषकको चाहाना अनुसार माटो परीक्षण गर्नेछ । कृषकको खेतमै पुगेर माटोको परीक्षण गर्ने गरी प्रयोगशाला सञ्चालनमा ल्याएको मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले जानकारी दिए ।
विष्टका अनुसार एक वर्षअघि संघीय सरकारले माटो प्रयोगशाला झुम्काका लागि घुम्ती सेवा सञ्चालन गर्न बस उपलब्ध गराएको थियो । प्रदेश सरकारले ७५ लाख लागतमा थप एक घुम्ती प्रयोगशाला खरिद गरेपछि गाउँ–गाउँमा पुगेर माटो परीक्षण गर्न लागिएको हो । बसमा जडित प्रयोगशाला कृषकले बोलाएका स्थानहरुमा माटो परीक्षण गर्न पुग्नेछ ।
माटो परीक्षण गर्न प्रदेश सरकारले ७५ लाखको लागतमा को १ ग १६० नम्बरको बसभित्र प्रयोगशाला स्थापना गरेको छ । सो बस माटो तथा मल परिक्षण केन्द्र सुरुङ्गामा रहनेछ । ‘कृषकले समूह बनाएर बोलाएको स्थानमा पुगेर माटो परीक्षाण गरी रिपोर्ट दिन्छ,’ सचिव विष्ट भन्छन्, ‘प्रदेश सरकारले परीक्षण किट उपलब्ध गराएका परीक्षण कारण निःशुल्क हुन्छ ।’
प्रदेश सरकारले प्रदेश १ का सबै जिल्लासम्म जाने गरी दुईवटा प्रयोगशाला स्थापना गरेको छ । सो प्रयोगशाला कृषकले बोलाएको स्थानसम्म पुग्नेछ । तर, प्रयोगशाला बोलाउनका लागि न्यूनतम १५–२० जना कृषकहरु मिल्नुपर्छ । कुनै गाउँ टोलका कृषक मिलेर खबर गरेको अवस्थामा प्रयोगशाला बोलाएकै स्थानमा पुगेर परीक्षण गरी रिपोर्ट दिनेछ ।
घुम्ती प्रयोगशालाले खेत खेतमा पुगेर ६ प्रकारको माटोको परीक्षण गरी फिल्ड रिपोर्ट दिनेछ । प्रयोगशालामा ल्याबका उपकरण, पिएच मिटर, पोटास परीक्षण गरिने फस्फोरस, मेकानिकल सेक्टर, जनेटर, एसीलगायतका उपकरणहरू छन् ।
परीक्षणसँगै सुझाव पनि माटोको परीक्षणपछि कृषकलाई कुन माटोमा कस्तो बाली लगाउन सकिन्छ भन्ने सुझाव पनि दिनेछ । माटोको उपचार पद्धती पनि सिकाइनेछ । परीक्षण गर्ने टोलीले कृषकलाई माटो अनुसारको खेती गर्नका लागि सुझाव पनि दिनेछन् । कृषिको व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याएको मन्त्रालयले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.