काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र २०७७ फागुन २० गतेभित्र १४औं महाधिवेशन सम्पन्न गर्ने गरी गृहकार्य अघि बढाउने आन्तरिक सहमति भएको छ । महाधिवेशनको मिति निर्धारणको विषयमा केन्द्रीय समितिमा विवाद उत्पन्न भएपछि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का सदस्य रहेको कार्यदल बनाइएको थियो । यो कार्यदलले संस्थापन तथा इतर दुवै पक्षलाई मान्य हुने गरी निकास निकालेको हो ।

१४औं महाधिवेशन २०७७ फागुन २० गतेदेखि आरम्भ गर्ने सहमति भए पनि वर्तमान केन्द्रीय समितिको म्याद थप्ने निर्णय आगामी फागुनमा मात्रै गर्ने सहमति भएको बुझिएको छ । अहिले नै म्याद थपेर महाधिवेशनको मिति औपचारिक रूपमा तय गर्दा विधान कार्यान्वयनमा अप्ठेरो हुने भएकाले आगामी फागुनमा मात्रै यो सहमतिलाई औपचारिकता दिने टुंगोमा नेपाली कांग्रेस पुगेको हो । महाधिवेशन हरेक चार वर्षमा हुने वैधानिक व्यवस्था भए पनि कावु बाहिरको परिस्थिति उत्पन्न भएको अवस्थामा  बढीमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ । विधानको यही प्रावधानअन्तर्गत एक वर्ष म्याद थप्न लागिएको हो ।

संविधानले तय गरेअनुसारका संरचना पार्टीमा पनि निर्माण गर्नुपर्ने भएकाले  चार वर्षभित्रै महाधिवेशन सम्भव नदेखिएको हो । १३औं महाधिवेशन २०७२ फागुनमा सम्पन्न भए पनि संविधानमा व्यवस्था गरिएका संरचनाको निर्माण राज्यले २०७४ भदौमा मात्रै सम्पन्न गरेको थियो । तीनवटा ठूला निर्वाचनमा होमिनुपरेका कारण नेपाली कांग्रेसले संविधानले तय गरेको राज्य संरचनाअनुसार पार्टीको विधान तर्जुमा गर्ने काम २०७५ पुसमा मात्रै  सम्पन्न ग¥यो । विधानअनुसार नियमाली तर्जुमाको काम गत साता मात्रै सम्पन्न ग-यो ।

महाधिवेशनभन्दा कम्तीमा एक वर्षअघि नै स्थानीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने वैधानिक व्यवस्था छ । उक्त व्यवस्थाअनुसार आगामी फागुन २० गतेभित्र स्थानीय अधिवेशन अर्थात् जिल्ला तहसम्मका अधिवेशन सम्पन्न गरिसक्नुपर्ने हुन्छ । छोटो समयमा धेरै काम गर्नुभएकाले ‘फास्ट ट्रयाक’ बाट अघि बढ्ने सहमति नेपाली कांग्रेसभित्र भएको छ । शनिबार बसेको पदाधिकारीहरूको अनौपचारिक बैठकमा यो सहमति भएको हो ।  खासगरी वडा समिति गठन गर्ने काम जटिल देखिएको छ । क्रियाशील सदस्यहरूबाट वडा समिति निर्वाचित गर्ने विधानमा व्यवस्था छ । निर्वाचनको प्रक्रियाबाट अघि बढ्दा धेरै समय लाग्ने अवस्था देखिएपछि सहमतिका आधारमा अन्तरिम समिति निर्माण गर्ने र उक्त समितिले १४ औं महाधिवेशनका लागि प्रक्रिया सुरु गर्ने सहमति भएको छ ।

अभिलेख हराएको छैन
क्रियाशील सदस्यताको कम्प्युटर सफ्टवेयर हराएका कारण समस्या उत्पन्न भएको समाचार गत अंकमा तरुणमा प्रकाशित भएको थियो । तर प्रवक्ता विश्वप्रकाश शर्माले कम्प्युटर सफ्टवेयरमा रहेको अभिलेख नहराएको बताएका छन् । उनले भने– ‘ एक संस्थाले लगेको कुरा साँचो हो, उसले नबुझाएको पनि साँचो हो, तर कांग्रेस केन्द्रीय कार्यालयमा अभिलेख नै बाँकी नहरको कुरा चाहिँ सत्य होइन, हामीसँग हार्ड कपी र सप्mट कपी सुरक्षित छ ।’ अभिलेख केन्द्रीय कार्यालयमा भए पनि उक्त अभिलेखलाई राज्यको नायाँ संरचनाअनुसारका भौगोलिक क्षेत्रमा छुट्याउन थप गृहकार्य गर्नुपरेको प्रवक्ता शर्माले बताए ।
साविकका गाविसहरू अधिकांश टुक्रिएर पालिकाका वडा बनेको, साविकका नगरपालिकाका वडाहरूको अधिकांश भूगोल हेरफेर गरिएका कारण ५० प्रतिशत क्रियाशील सदस्यहरूको ठेगाना परिवर्तन भएको छ । परिवर्तित ठेगानाअनुसारको अभिलेख राख्ने काम केन्द्रीय कार्यालयबाट मात्रै सम्भव देखिएको छैन । यसका लागि सम्बन्धित वा साविकका गाविस तथा वडा कमिटीले नै क्रियाशील सदस्यहरूको ठेगाना परिवर्तनसहितको अभिलेख केन्द्रमा पठाउनुपर्ने हुन्छ । त्यसैले केही समय लागेको प्रवक्ता शर्माले बताए ।

तरुण खबरबाट

Comment here