Rashtriya Yuva Jagaran
Online Digital News

छोराछोरीलाई विशिष्ट सद्गुणी कसरी बनाउने ?

आचार्य लक्ष्मण भण्डारी
हामी को हौँ ? के चाहन्छौँ र हाम्रो जीवनशैली के हो ? भन्ने प्रश्नहरुको उत्तर हामीले हाम्रा बालबालिकामा पाउँछौँ, किनकि ती हाम्रा प्रतिबिम्ब हुन् । एउटा शिष्यमा उसको गुरूको धारणा, गुण र विशेषताहरु प्रतिबिम्बित भएका हुन्छन् । एउटा सुन्दर कविता कविको सुन्दर मनोभावको प्रतिच्छाया हो । सुन्दर सिर्जना सुन्दर स्रष्टाको प्रतिबिम्ब भएजस्तै छोराछोरी पनि हाम्रा सिर्जना हुन् र ती हाम्रा छायाछविभन्दा भिन्न हुन सक्दैनन् ।
बालबालिकाको अनुहार तिनका बाबुआमाको अनुहारसित ठ्याक्कै मिलेको हुन्छ । शरीरको बनावट, रुपरङ्ग, स्वर र हिँडाइबोलाइजस्ता कुरा पनि बाबुआमाकै जस्ता हुन्छन् । यी समानता हाम्रा छोराछोरीले जन्मँदै हामीबाट लिएर आएका हुन्छन् । घरपरिवारमा रहँदाबस्दा हामीले गर्ने व्यवहार, जीवननशैली, चिन्तनचेतना वा प्रवृत्तिको प्रभाव पनि उनीहरुमा परेकै हुन्छ । हामीले कुनै योजना नबनाईकन स्वतःस्फूर्त हाम्रा छोराछोरीले सिक्ने यी सिकाइका अतिरिक्त पनि धेरै विषय छन्, जसलाई हामीले प्रयत्न गरेर सिकाउन सक्छौँ, सिकाउनुपर्छ पनि ।
हामीले अल्लि धेरै ध्यान दिनुपर्ने र हाम्रा छोराछोरीले सिकून् भनेर प्रयास गर्नुपर्ने तिनै मूल्यहरुले अन्ततः ती अरुभन्दा भिन्न र विशिष्ट बनेर समाजमा प्रस्तुत हुन सक्छन् । समाजमा विशिष्ट व्यक्तिकै पूजा हुन्छ । सामाजिक र मानवीय भावना भएको उदारमना व्यक्तिको कदर समाजमै हुने हो । तसर्थ, हामी हरेक अभिभावकले हाम्रा छोराछोरीलाई समाजका लागि आवश्यक ती विशिष्ट गुणहरुको विकास गर्न प्रेरित गर्ने र त्यसखालको वातावरण निर्माणसमेतमा लाग्नुपर्दछ ।
त्यसोभए त्यस्तो विशिष्टता के हो, जसले हाम्रा बालबालिकालाई सामाजिकरुपमा विशिष्ट तुल्याउन सक्छ रु केकस्ता मूल्यहरु हाम्रा बालबालिकाले आफूभित्र विकास गरे भने तिनको जीवन धन्य हुन सक्छ रु आउनुस्, अब एकछिन हामी अभिभावक हाम्रा बालबालिकाले सिक्नैपर्ने शाश्वत जीवनमूल्यका ती विशिष्ट सद्गुणहरुबारे चिन्तन गरौँ ।
१. आस्तिकता
‘अस्ति मतिर्यस्य स आस्तिक’ अर्थात् जसको ‘हो’ र ‘छ’ भन्ने चिन्तन वा बुद्धि छ, त्यसलाई आस्तिक भनेर भनिन्छ । आस्तिक व्यक्तिले सबैको अस्तित्व स्वीकार्दछ । उसका लागि धरतीका माटो, ढुङ्गो, जीवजनावर, किराफट्याङ्ग्रादेखि लिएर मनुष्यसम्म सबै उत्तिकै मह¤वपूर्ण हुन्छन् । उसमा कसैप्रति पनि नकारात्मक धारणा वा निषेधको भाव हुँदैन । सबैलाई उसले आफ्ना ठान्न सक्छ र सबैको अस्तित्वलाई स्वीकार्न सक्छ ।
हाम्रा छोराछोरीभित्र पनि सबैको अस्तित्वलाई स्वीकार्न सक्ने महानताको उदय हुन सक्यो भने ती पनि सबैका लागि स्वीकार्य बन्न सक्छन् । आखिर हाम्रो प्रयास पनि त हाम्रा छोराछोरी सर्वस्वीकार्य हुन सकून् भन्ने हो, सबैले चाहने र स्नेह गर्ने बन्न सकून् भन्ने हो । त्यसको सुरूआत हाम्रै छोराछोरीबाट हुनुुपर्दछ, आस्तिक बनेर ।
आस्तिक हुनुको अर्थ सबैसबैलाई मूल्य दिनु, सम्मान दिनु वा ‘मसहित यो जगत्मा सबै छन्, सबैको मेरोजस्तै मह¤वपूर्ण अस्तित्व छ’ भनेर मान्नु हो । ‘म नै सबैथोक हुँ, मबाहेक अरु सबै बेकार हुन्’ भन्ने संस्कार विकसित भएको आजको यो समयको खाँचो यही आस्तिकता हो । यो भावना सानो भावना होइन । यो त अत्यन्त दिव्य र ईश्वरीय भावना हो । ईश्वरको अस्तित्वलाई पनि यो भावनासित जोड्न सकिन्छ । आस्तिकहरुले कहिल्यै पनि ईश्वरको अस्तित्वलाई अस्वीकार गर्दैनन्, बरू आफ्ना सबैसबै प्रयासको जस ईश्वरलाई दिन मन पराउँछन् ।
आस्तिकताको कुरा गर्दा सबैको अस्तित्वलाई समानरुपमा स्वीकार्ने भन्ने कुरा जति मह¤वपूर्ण छ त्यति नै मह¤वपूर्ण कुरा ईश्वरको अस्तित्वलाई केन्द्रमा राख्नुपर्दछ भन्ने पनि छ । आस्तिकहरुले आफ्नो आशा, भरोसा र दुःखसुखको साथीका रुपमा ईश्वरलाई मानेका हुन्छन् । हाम्रो जीवन साँच्चै नै रहस्यमय छ । स्वयम् हाम्रो जीवन, वरपरको प्रकृति, चराचर परिदृश्य यी सबैसबै एकसे एक अद्भुत र रहस्यले भरिएका छन् । यसर्थ, यी सबै रहस्यहरुका पछाडि पक्कै पनि कुनै अदृश्य शक्तिको भूमिका छ भन्ने भावमा जीवन बाँच्दा हाम्रा धेरै प्रश्नहरुको समाधान निस्कन्छ । कहिलेकाहीँ हामीले सोच्ने सीमा पनि पार हुन्छ, समस्याका अनेक तानाबानाले सताउँछन्, किंकर्तव्यविमुढ हुने अवस्था आउँछ, त्यतिबेला त्यही रहस्यलाई सबै कुरा जिम्मा लगाउनुबाहेक अर्को कुनै विकल्प देखिँदैन । जब त्यसरी जिम्मा लगाइन्छ, त्यतिबेला तत्काल निर्भार भएको अनुभूति हुन्छ ।
हाम्रा छोराछोरीभित्र पनि आस्तिकताको विकास होस् र आफ्नो वशबाहिरका समस्यालाई ईश्वरको जिम्मा लगाएर हलुका हुने कलाको ज्ञान होस् भन्नका लागि ईश्वरप्रतिको आस्था विकासको वातावरण सिर्जना गर्नु हामी अभिभावकको विशेष दायित्व हुन आउँछ । जीवनमा शक्ति, शौर्य, साहस र बल छँदा त हामीलाई कसैको पनि आवश्यकता महसुस हुँदैन । न हामीलाई बाबुआमा चाहिन्छ, न दाजुभाइ र दिदीबहिनी चाहिन्छ, न साथीभाइ र छिमेकीको आवश्यकता नै महसुस हुन्छ । कोही चाहिन्छ भन्ने लाग्दैन भने ईश्वरको आवश्यकता त झन् कसरी महसुस होला र ?
जीवनको गति अत्यन्त परिवर्तनशील छ । व्यक्तिको बल, शक्ति र शौर्यको तुजुक सधैँ रहँदैन । कुनै न कुनै दिन उसले एक्लो, असहाय, शक्तिहीन र कमजोर महसुस गर्ने दिन आउँछ । त्यसबेला आफ्नो बल र शक्तिबाहेक कसैको पनि अस्तित्व स्वीकार नगर्ने संस्कार भएको व्यक्ति आत्तिन्छ, दुःखी हुन्छ, असहाय महसुस गर्दछ । ईश्वरले कल्याण गर्छन् भन्ने विश्वास भएको व्यक्ति भएका भए त्यो दुःखको बेलामा आशा हुन्छ, तर ईश्वरको अस्तित्वलाई सधैँ अस्वीकार गर्ने बानी भएको नास्तिक छटपटिएर मर्छ ।
तसर्थ, ‘वरपरका सबै मह¤वपूर्ण छन्, यो जीवन ईश्वरकै सुन्दर प्रतिछवि हो’ भन्ने आस्तिक धारणा भएका हाम्रा छोराछोरी ईश्वरका पनि प्रिय हुन्छन् भने वरपरका सबैसबैका पनि प्रिय र सर्वस्वीकार्य बन्न सक्छन् । हाम्रा छोराछोरी पनि कहिल्यै एक्लो हुन नपरोस्, दुःखदर्द र भयानक समस्याका भेलमा पनि ईश्वरलाई सम्झिँदै शान्त रहन सकून् भन्नका लागि उनीहरुभित्र आजै आस्तिकताको संस्कार विकास गर्नु हाम्रो अहम् दायित्व देखिन्छ ।
२. दीनदुःखीलाई सहयोग
कहिलेकाहीँ हाम्रो घरको आँगनमा भिक्षा माग्दै जोगीहरु आउँछन्, भीख माग्दै भिखारीहरु आउँछन् । त्यतिबेला छोराछोरीलाई ‘तिमीले भिक्षा लगेर देऊ’ भनेर अह्राउनुपर्दछ । उनीहरुले सिकून् घरमा माग्न आउने दुःखीलाई सेवा गर्नुपर्छ, सहयोग गर्नुपर्दछ भन्ने दर्शन । समय एकनास रहँदैन । इतिहासमा ठूलाठूला राजाहरुले पनि भिखारी भएर मागेर खानु परेका उदाहरण प्रशस्त छन् । हामी त सर्वसाधारण । के ठेगान छ र रु भोलि हाम्रो पनि त त्यही दशा हुन सक्छ ।
घरमा माग्न आउनेलाई त्यति धेरै दिनु पनि पर्दैन । पैसा नै दिँदा पनि ५–१० रूपैयाँ । चामल, दाल, नुन, आलु आदि दिँदा पनि धेरै जाँदैन । त्यति दिँदा हामी सकिँदा पनि सकिन्नौँ । माग्ने, दुःखी र दरिद्रलाई दिने बानीले हाम्रा छोराछोरीले ‘समाजमा सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्दछ, दुःखी र दरिद्रलाई खुसी बनाउनुपर्दछ, बाँडीचुँडी खानुपर्दछ’ भन्ने मह¤वपूर्ण शिक्षा प्राप्त गर्दछन् ।
कतिपयले घरमा माग्न आउनेलाई पनि जवाफ लगाउँछन्— ‘यत्रा हातखुट्टा छन्, काम गर्नुछैन, मागेर खान लाज लाग्दैन रु’, ‘हामीले यसरी दियौँ भने यिनीहरुलाई यही बानी लाग्छ, सधैँ आउँछन्, हैरान् पार्छन्’ आदिआदि । हामीले कहिल्यै यसो भन्नुहुँदैन । हामीले दिएर कति जाला र रु पहिलो कुरा त घरबारविहीनकहाँ माग्न कोही जाँदैन । हाम्रो घर देखेर ‘यसले त केही दिन्छ’ भन्ने आशा बोकेर ती दुःखी मगन्तेहरु हाम्रो आँगनमा आएका हुन्छन् । हाम्रो यस्तो भनाइले ती निराश भएर फर्कन्छन् । यो ठूलो पाप हो ।
हेर्नुस् त हामी कति भाग्यमानी १ मानिस पुण्यका लागि कहाँकहाँ जान्छन् रु कति टाढाटाढा गएर पनि थोरै धर्म कमाउन सक्दैनन् । हामीले त घरको ढोकामै पुण्यको दुर्लभ अवसर प्राप्त गरेका छौँ । यति सुन्दर अवसर गुमाउने मानिस कति अभागी हुन्छ होला रु यसर्थ, हाम्रा बाबुनानीलाई हामीले आँगनमा आएका दुःखीलाई खुसी बनाएर, हँसिलो बनाएर पठाउनुपर्दछ भन्ने सिकाउन सक्यौँ भने ती पनि आउँदा दिनमा पुण्यात्मा भएर जीवनलाई धन्य बनाउन सक्नेछन् ।
हामी माग्नेलाई दिँदा सकिन्छ कि वा पटकपटक आएर हैरान् पार्छन् कि भनेर कहिल्यै आत्तिनुहुँदैन । आएछन् भने झन् राम्रो, आउनुपर्छ, किनकि ती आए भने हामीले दानको धर्म निर्वाह गर्ने अवसर पाउँछौँ । कति जान्छ र १ दैनिक १० रूपैयाँ नै दिनुभएछ भने पनि महिनाको ३०० त गयो नि १ ३०० दिँदा ती दुःखीको अन्तरआत्माको धन्यवाद पाइन्छ, जसलाई कुनै मूल्य गर्न सकिँदैन । बालबालिकाले पनि घरमै बसेर दानको अभ्यास गर्न पाउने भए ।
त्यसो त हाम्रो संस्कारले कमाइको ५ देखि १० प्रतिशत दान गर्नुपर्छ भनेर भन्छ । ठीक छ, त्यति पनि नगरौँ सकिन्न भने, तर समय–समयमा सहयोग, दान र पुण्यको संस्कार छोराछोरीलाई सिकाउँदा सायद केही बिग्रँदैन ।
कहिलेकाहीँ मन्दिर घुम्न लिएर जानुस् । छोराछोरीलाई केही खुल्ला पैसा दिनुस् र मन्दिरमा चढाउन लगाउनुस्, मन्दिरवरपर रहेका माग्नेलाई दिन लगाउनुस् । कहिलेकाहीँ अनाथालयमा लिएर जानुस् र अनाथहरुलाई सहयोग गर्न लगाउनुस् । कोही अन्धाअपाङ्ग रहेछन् भने तिनलाई सहयोग गर्न सिकाउनुस् । यो हाम्रा छोराछोरीले नसिकी नहुने कुरा हो । उनीहरुले घरमा आएका माग्नेहरुलाई केही दिइरहेका बेलामा उनीहरुको हात माथि परेको कुरा सम्झाउनुस् र भन्नुस्, ‘बाबु÷नानु १ हेर त दिने मानिसको हात सधैँ माथि पर्छ । ऊ कहिल्यै तल पर्दैन । जसले दान दिन्छ, उसलाई दान लिने मानिसले सधैँ माथि राख्छ, सम्मान गर्छ, सम्झन्छ, श्रद्धा गर्छ । त्यसैले, यदि हामी सम्मानित हुनुछ, श्रेष्ठ हुनुछ र दीनदुःखीको श्रद्धेय हुनुछ भने दिन सिक्नुपर्छ, सहयोग सधैँ तत्पर हुनुपर्दछ । हामी ऋणी हुने होइन, अरुलाई हामीप्रति ऋणी बनाउने हो ।’
३. बचत गर्ने बानी
यदि व्यक्तिले दिनमा एक हजार रूपैयाँ कमाउँछ र त्यति नै खर्च गर्छ भने उससँग कति पैसा बाँकी रहला रु शून्य । कमायो कमायो गुमायो । यसको के अर्थ रु अर्को व्यक्तिले दैनिक ५०० कमाउँछ र ३०० खर्च गर्छ भने उसको बचत कति भयो रु दुई सय । यसरी दुई–दुई सयका दरले बचत गर्दै जाँदा मासिक ६ हजार बचत गर्न ऊ सफल भयो । बिस्तारै उसको आर्जनमा वृद्धि हुँदै जान्छ ।
धेरै कमाउनु ठूलो कुरा होइन, धेरै बचत गर्नु ठूलो कुरा हो । बालबालिकालाई एक रूपैयाँ, दुई रूपैयाँ, पाँच रूपैयाँ जेजति हुन्छ, बचत गर्ने बानी सिकाउँदा अभिभावकलाई कुनै बेफाइदा हुँदैन । कुनै यस्तो समय आउँछ, जतिबेला हाम्रा छोराछोरीले त्यसरी जम्मा गरेको खुद्रा बचतले पनि ठूलो गर्जो टार्छ । त्यसबाहेक त्यो बचतको पैसाले भविष्यमा तिनले कुनै विशेष काम सम्पन्न गर्न सक्छन् ।
त्यसो त, बालबालिकासित त्यतिधेरै पैसा पनि हुँदैन । तर जेजति हुन्छ, बेलाबेलामा जहाँजहाँबाट प्राप्त हुन्छ, त्यसलाई सबै खर्च नगरी केही न केही खुत्रुकेमा जोगाएर राख्न सिकाइयो भने हाम्रा छोराछोरीले गहिरोसित बचतको संस्कार सिक्छन् । भोलि गएर जति कमायो उति नै खर्च गरेर शून्यमा रहने समस्याबाट ती मुक्त हुन्छन् । उनीहरुमा ‘असली कमाइ भनेको आर्जनभन्दा बढी बचत हो’ भन्ने संस्कार निर्माण हुन्छ ।
४। सरसफाइ र शूचिता
हामी पार्कहरुमा जान, बस्न, टहलिन र समय बिताउन मन पराउँछौँ । भन्नुहोला पार्कमा बिरूवाहरु हुन्छन्, बोटबिरूवाहरु हुन्छन्, हरियाली हुन्छ, त्यसैले । तपाईंको कुरा आधा मात्र सत्य हो, किनकि रुखबिरूवा र हरियाली त वनजङ्गलमा पनि हुन्छन् । यसको अर्थ वनमा रमाइलो हुँदैन भन्ने होइन, तर वनमा भन्दा धेरै आनन्द पार्कमा जाँदा हुन्छ, जङ्गलमा जानभन्दा पार्कमै जान खोजिन्छ । यसको मूल कारण भनेको त्यहाँको सरसफाइ र व्यवस्थापन नै हो । जङ्गलमा गएर हामी धेरै समय बस्न सक्दैनौँ । त्यहाँ झाडी हुन्छ, लामखुट्टेले टोक्छ । सरसफाइ हुँदैन । बोटबिरूवा भएर पनि काँटछाँट र शुद्धता हुँदैन । पार्कको वातावरण मनोरम र आकर्षक लाग्नुको कारण मूलतः सफा वातावरण नै हो ।
मानिसका लागि सरसफाइ नभई हुँदैन । हरेक दिन बालबालिकालाई सरसफाइमा प्रेरित गर्नु हरेक अभिभावकको दायित्व हो । ‘फोहोर जहाँतहीँ फाल्न हुँदैन, निश्चित ठाउँमा फाल्नुपर्छ । घरको आँगन, बार्दली, भान्साकोठा, शौचालय, कोठाकुना सबैतिरको फोहोर हटाउनुपर्छ । ओछ्यान राम्ररी मिलाएर, पट्याएर कपडा राख्नुपर्छ’ भन्ने कुरा हामीले घरमा नै सिकाउने हो ।
सानो छँदा अल्लि अप्ठ्यारो हुन्छ, छोराछोरीले सक्दैनन्, तर कम्तीमा १२ वर्षपछि उनीहरुले नित्य स्नान गरुन् । बिहान उठेर शौचादि नित्यकर्म सकेपछि चिसो पानीले नुहाउने बानी लाग्यो भने हाम्रा बाबुनानीले जीवनमा आधा स्वास्थ्यलाभ गरे भन्दा हुन्छ । दैनिक स्नान गर्दा शरीर त सफा र स्वस्थ हुन्छ नै, साथसाथै मनभित्रको फोहोर पनि सफा भएको सन्देश कोषकोषमा पुग्छ । हामीभित्र कहिल्यै पनि हृदय प्रदूषित हुने विचार आउन सक्दैन । काम, क्रोध, लोभ, मोहजस्ता विषय पनि धोइन्छन्, पखालिन्छन् । दैनिक स्नानले व्यक्तिको मनोविज्ञानमा पार्ने प्रभावको वर्णन शब्दमा गर्न सकिँदैन ।

बालबालिकालाई चकलेट, चुइगम आदि सकेसम्म नखान र यदाकदा खाइहाले नै भने पनि प्लास्टिकलगायतका फोहोर निश्चित ठाउँमा लगेर फाल्नुपर्छ भन्ने संस्कार विकास होस् भनेर अभिभावक सचेत हुनु आवश्यक छ । शुचिता अर्थात् सफाइको संस्कारका कारण हाम्रा छोराछोरी जीवनभरि नै पवित्र र निर्मल भएर बाँच्ने आधार निर्माण हुन्छ ।
५. इमानदारिता
‘अनेस्टी इज दी बेस्ट पोलिसी’ भनेर भनिएको छ, अर्थात् इमानदारिता सबैभन्दा सुन्दर सीप हो । व्यक्ति शारीरिकरुपले सुन्दर पनि छ, बलियो पनि छ, पढेको पनि छ, धनी पनि छ, तर इमानदार छैन भने उसको धन, रुप, बल, शक्ति र सामथ्र्यको कुनै अर्थ रहँदैन । कुरुप छ, गरिब छ तर इमानदार छ भने उसका सबै अभाव एकैपटकमा पूरा हुन सक्छन् । आज इमानजमान हराएको अवस्था छ । मानिस लोभीपापी भएर बाँच्ने गरेका छन् । कसैको कसैप्रति विश्वास छैन ।

विश्वास र आस्था हराएको यो समयमा इमानजमान भएको व्यक्ति सबैको हाइहाइ हुन्छ । हाम्रा छोराछोरीलाई पनि हामीले इमानदार हुन सिकाउनुपर्दछ । बोलीमा घटनैपिच्छे ढाँट्ने, बहाना बनाउने, कर्तव्यप्रति जवाफदेही नहुने भए भने तिनले ठूलो दुःख पाउँछन् ।

बदमासहरु त टोलैपिच्छे छन् नि १ बदमासै भएर त कसरी विशिष्ट हुन सकियो र रु इमानदार हुनु भनेको नै विशिष्ट हुनु हो ।
आफ्नो धर्म र कर्तव्य नबिर्सनु, आफूले बोलेका कुरालाई व्यवहारमा लागू गर्नु, विवेकले भनेबमोजिम मनलाई परिचालन गर्नुस समाजका नीतिनियम, आदर्श र मूल्यहरुप्रति निष्ठावान् हुनु इमानदार व्यक्तिका पहिचान हुन् । यी कुरा सबैका लागि उत्तिकै प्रिय र आवश्यक हुन्छन् ।
रक्सी खाने कुनै पनि रक्स्याहाले आफ्ना छोराछोरी रक्स्याहा नै होऊन् भन्ने चाहँदैन । आफूले रक्सी खाए पनि तिनले नखाऊन् भन्ने चाहना हुन्छ । कुनै पनि चोरले आफ्नो सन्तानले पनि चोरी गरोस् भन्ने चाहँदैन । सुर्ती खाने शिक्षकले आफ्ना विद्यार्थीले सुर्ती खाऊन् भन्ने चाहँदैनन् । मान्छे आफू सदाचारी हुन नसक्ला, संस्कारवान् हुन नसक्ला तर उसले संस्कारवान् मान्छे अवश्य मन पराउँछ, सदाचारी व्यक्तिलाई अवश्य प्रशंसा गर्दछ ।
हामीलाई ‘यत्रा बदमास र फटाहाहरु भएको ठाउँमा हामी अथवा हाम्रा छोराछोरी इमानदार भएर के होला र रु’ भन्ने लाग्न सक्छ, तर त्यसो होइन । समाजमा सबैका लागि असल मान्छे प्रिय हुन्छन् । असल मान्छेको मूल्य बुझ्नका लागि असल मान्छे नै हुनुपर्दछ भन्ने होइन । भारतका पूर्वराष्ट्रप्रति स्वर्गीय अब्दुल कलाम असल मान्छे थिए । उनलाई विश्वका सबै मानिसले उच्च सम्मान गर्थे, चाहन्थे । यसको अर्थ संसारमा सबै मान्छे असल रहेछन् भन्ने हो र रु अवश्य होइन ।

एउटा कुरा भने अवश्य हो, व्यक्तिको बाहिरी आचरणजस्तो भए पनि विवेक सधैँ इमानदार हुन्छ । सबै मान्छे बाहिर बदमास भए भने पनि भित्र भने इमानदार नै हुन्छन्, किनकि सबै व्यक्तिभित्र विवेक हुन्छ, ब्रह्म हुन्छ र अन्तरात्मा हुन्छ । त्यसैले, इमानदार मानिस सम्मानित हुनु भनेको सबैको विवेक र अन्तस्करणको सम्मान पाउनु हो । हाम्रा छोराछोरीलाई पनि हामीले यस्तै सम्मानका लागि प्रेरित गर्नुछ, इमानदार बनाउनुछ । यो हाम्रो अर्को दायित्व हो ।

यी सबै कुरा हाम्रा बाबुनानीले जान्नुछ, सिक्नुछ र व्यवहारमा लागु गर्नु त छ, तर त्यसका लागि सबैभन्दा पहिला हामीले त्यस्तै उदाहरणीय व्यवहार प्रदर्शन गर्नुछ । भनेर होइन, छोराछोरीका अगाडि यी शाश्वत गुणहरुलाई गरेर देखाउनुछ, जसले गर्दा हाम्रा छोराछोरीलाई पनि तपाईंजस्तै बन्न प्रेरणा मिलोस्, बल मिलोस्, उत्साह मिलोस् । उनीहरुले त्यस्ता आदर्श खोज्न बाहिर जान नपरोस् । घरभित्रै ती दिव्य व्यक्ति भेट्दा हाम्रा बाबुनानी कम्ती खुसी हुँदैनन् ।

acharyalb@gmail.com

Chitwan Post

Leave A Reply

Your email address will not be published.