Rashtriya Yuva Jagaran
Online Digital News

चिनियाँ राष्ट्रपति सी आज नेपाल आउँदै

काठमाडौं, २५ असोज २०७६ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।
भारत भ्रमणमा रहेका सी त्यतैबाट शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी सरकारले गरेको छ ।
शनिबार काठमाडौंमा विशेष विमानबाट अवतरण गरेपछि सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ । सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ता राष्ट्रपति कार्यालय, शीतल निवासमा हुनेछ ।
त्यसपछि सीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन् ।
देउवासँगको भेटवार्तापछि राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी कार्यतालिका छ ।
आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुनेछ । राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यद्यपि, उक्त मन्त्रालयले वार्ताको मिति सार्वजनिक गरेको छैन ।- अनलाईन खबरबाट

Leave A Reply

Your email address will not be published.