Rashtriya Yuva Jagaran
Online Digital News

आज देशभर गाईको पुजा गरिँदै

यमपञ्चकमा गाई पुजासँगै नेवार समुदाय नयाँ वर्ष अर्थात् म्ह पुजा गर्दै

रायुजा संवाददाता
विराटनगर, ११ कात्तिक २०७६ सोमबार । यमपञ्चक अर्थात् तिहारको रमझम हुँदै गर्दा नेवारी समुदाय पनि क्यालेण्डर परिवर्तन गराउने पर्व म्ह पुजामा व्यस्त रहेका छन् । तिहारको आज चौथो दिन गाई, गोवद्र्धन र गोरुको पूजा घरघरमा गरिँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जतिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मानसमेत गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरिसकेको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक बिश्वास समेत रही आएको छ । आज आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्ण्ँले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधार वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसी आएको हो । वर्षभर जोतिएर मानव हितकालागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन रही आएको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्मा पूजा गरी म्ह पूजा पर्व मनाउने गर्दछन् । आत्मा सन्तुष्ट बनाई खुसी राख्न सके देवीदेवता पनि प्रशन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत रहेको छ ।
म्ह पुजा
शरीरको प्रतिनिधि काय (शरीर), वाक (वचन) र चित्त (मन) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजा नै म्ह पूजा हो । काय, वाक र चित्तको परिशुद्धि र एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल (सक्षम) विचार वा चित्त उत्पत्ति भई राम्रो कार्य गर्न सदा उत्प्रेरित गर्दछ । व्यक्तिको चित्त एकाग्र भएको अवस्थामा धर्म चित्त उत्पत्ति हुनेछ, जसलाई धर्मोदय भनिन्छ ।
कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानको रूपमा रहेको म्ह पूजा गर्दा माथिका श्लोकहरुको उच्चारण गरिन्छ । यो म्ह पूजा हजारौँ वर्षदेखि मुलुकको राष्ट्रिय गौरवको रूपमा देशभरि चल्दै आइरहेको छ ।
नेपाल संवत्अनुसार हरेक नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्ह पूजा (आफ्नो शरीरको पूजा आफैँ गर्ने) गर्ने परम्परा छ । म्ह पूजाको दिन अर्थात यही कात्तिक १२ देखि नेपाल संवत्अनुसारको नयाँ वर्ष शुरु हुन्छ । यो दिन नेवार समुदायमा न्हूदँया भिँतुना (नयाँ वर्षको शुभकामना) आदानप्रदान गर्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.