Rashtriya Yuva Jagaran
Online Digital News

आज बिहानै पहिला गोवर्द्धन पुजा अनि भाईटिका, साइत बिहान ११ः५५

रायुजा संवाददाता
विराटनगर, १२ कात्तिक २०७६ मंगलबार । आज यमपञ्चकको पाँचौं दिन मंगलबार भाइटिकाको दिन घरघरमा गोवर्द्धन पुजा समेत गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँैछन् । भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिने परम्परा रहेको छ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि मध्यान्ह ११ः५५ बजेको समय उत्तम छ, भाइटीका लगाउन मध्यान्हको समय हुनुपर्ने भएकाले यो समय निकालिएको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
मंगलबार लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा रहेका छन् ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ।
गोवर्द्धन पूजा पनि आजै
आज मंगलबारै देशभरका आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ। द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो।
यसवर्ष तिथिको घटबढका कारण भाइटीकाको दिन गोवर्द्धन पूजा परेको हो। कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ आज ९मंगलबार० बिहान ७ः५१ बजेसम्म प्रतिपदा तिथि छ। गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने भएकाले मङ्गलबार नै गर्ने निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए।
आज (मंगलबार) बिहान प्रतिपदा तिथि हुँदै गोवर्द्धन पूजा गर्न समितिले आह्वान गरेको छ। त्यसपछि भाइटीका लगाउन सकिन्छ।

Leave A Reply

Your email address will not be published.