Rashtriya Yuva Jagaran
Online Digital News

औषधीय क्षमताको पहिचानसँगै सिस्नोका परिकार देश विदेशमा फैलँदै

Related image

सिस्नो शरिरको लागि जति पोषिलो त त्यतिकै मात्रामा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बोकेको छ भन्ने निक्र्योल भएपछि सिस्नोलाई प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको हो ।

========================

बाबुराम क्षेत्री

विराटनगर, १५ कात्तिक २०७६ । हेलाको दृष्टिले हेरिने सिस्नोलाई उत्पादन, प्रशोधन र बिक्रीवितरण गर्न पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मका युवाहरु यतिखेर लागिरहेका छन् । पूर्वमा हिमालयन एग्रो प्रोडक्टले सिस्नोलाई प्रशोधन, उत्पादन र विक्री गर्न थालेको एक दशक नहुँदै रुकुमपश्चिम चौरजहारी गाउँपालिकाका युवाहरुसमेत सिस्नो प्रशोधन र विक्री वितरणमा जुटेका छन् । २८ वर्षीया सुन्दर शर्माले स्थानीय पाँच युवाहरुलाई रोजगारी समेत दिएर सिस्नो प्रशोधन गरेर पाउण्डर उत्पादन गर्न थालेका छन्।
एक दशक अगाडि मात्रै पनि सिस्नो घरभित्र हुल्न नहुने र गरिबहरुले खाने भन्ने अर्थमा लिने गरिन्थ्यो । यतिखेर दाल, ढिंडो र सुपका लागि लोकप्रिय बनेको सिस्नोलाई एक दशक अगाडि हेला गरिन्थ्यो । यसैले होला लक्ष्मी प्रसाद देवकोटाले आफ्ना कविताका हरफहरुमा ‘हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ भन्ने पंक्ति उदृत गरेका थिए । अब यि पंक्तिहरु यतिमै सीमित रहन सकेनन् । सिस्नोको महिमा, गुण र यसका फाइदाहरुले मानिसले औषधीय क्षमताको पहिचान गराएको छ । सिस्नो शरिरको लागि जति पोषिलो त त्यतिकै मात्रामा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बोकेको छ भन्ने निक्र्योल भएपछि सिस्नोलाई प्रयोग गर्नेहरुको संख्या ह्वात्तै बढेको हो । यहि महत्वका कारण यसको बजार बढेको हुनाले विभिन्न कम्पनीहरुले यसलाई संरक्षण, उत्पादन, प्रशोधन र विक्रीलाई देश विदेशसम्म पु¥याई सकेका छन् ।
सिस्नो अहिले भिर पाखामा मात्र सीमित छैन । सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँराहरूमा महँङ्गो खानाको परिकारमध्येमा पर्न थालेको छ ।
घरभित्र छिराउन मिल्दैन भनिने सिस्नो अहिले डिपार्टमेण्ट स्टोरहरूमा सजिएर दिनमै हजारौं रूपैयाँ बराबरको बिक्री भईरहेका छन् । पूर्वमा पहिलो पटक सिस्नोलाई प्रशोधन गरेर पाउण्डर बनाएर बिक्री वितरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सुनसरीको हिमालयन एग्रो प्रोडक्टले देश विदेशका मुख्य सहरहरुमा सिस्नोलाई पु¥याईसकेको छ । राजधानीमा मुख्य कार्यालय रहेको सो कम्पनीले सिस्नो पाउडर देशभित्रमात्रै नभई अमेरिका, बेलायत, जापान, हङकङ, कोरियालगायतका मुलुकहरूमा पु¥याइसकेको छ ।
त्यसो त अब सिस्नो समृद्धिको आधार समेत बनेको छ । रोजगारीको माध्यमका रुपमा यसलाई विकसित गर्दै देशका विभिन्न ग्रामीण मुलुकहरूमा रहेका विभिन्न सहकारीहरूले सङ्कलन गरेको सिस्नोलाई राजधानीमा ल्याएर प्रशोधन गरी प्याकेजिङ र ब्राण्डिङमा जुटेको हिमालयन एग्रो प्रोडक्टले तयार गरेको रावा नामक ब्राण्डको सिस्नो सुप र चिया अत्यन्तै लोकप्रिय रहेको दाबी प्रबन्ध निर्देशक विशाल राईको छ । राईका अनुसार वार्षिक ६० देखि ७० लाखको सिस्नो पाउडर बिक्री भईरहेको छ ।
सिस्नो पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घ–संस्थाहरूको पनि लर्को लागेको छ । त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नोको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं सङ्घ/संस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नोको कारोबार गरिरहेका छन्। खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका हुन् ।
सिस्नोको धुलोलाई दाल, ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानेहरूको सङ्ख्या बढ्दो छ ।

Leave A Reply

Your email address will not be published.