Rashtriya Yuva Jagaran
Online Digital News

विराटनगर एकीकृत भन्सार जाँच चौकीको निर्माणाधिन भवन तयार

विराटनगर, १५ कात्तिक २०७६ । प्रदेश १ को राजधानी विराटनगरस्थित नेपाल भारत सीमा क्षेत्रमा निमार्णाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को निर्माण कार्य सम्पन्न भएको छ । भारततर्फको संरचना तयार भई सञ्चालनमा आइसकेको लामो समयपछि नेपालतर्फको संरचना निमार्ण सम्पन्न भएको हो । नेपाल र भारतीय पक्षबाट निकै महत्वसाथ हेरिएको विराटनगरको एकीकृत भन्सार जाँच चौकी(आईसीपी) निर्माण कार्य सम्पन्न भएको हो ।
भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सीसीटीभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था रहेको छ ।
इलेक्ट्रिक सब–स्टेशन, वे ब्रिजलगायत सुविधा उपलब्ध छन् । नेपाल–भारतबीच सन् २००९ मा सीमा नाकामा दुरुस्तै प्रकृतिको भौतिक पूर्वाधारसहितको भन्सार चौकी निर्माण गर्ने सहमति भएको थियो।
सोहीअनुरुप विराटनगरमा नेपालतर्फको जाँच चौकी संरचनाका लागि भारतीय पक्षले रू।१ अर्ब ३१ करोडको लागत लाग्ने अनुमान गरेको थियो । विराटनगर महानगरपालिका–१८ बुधनगरमा अवस्थित आईसीपीको काम लगभग पूरा भएको छ । गत फागुन १६ गते नै निर्माण सम्पन्न भइसक्नुपर्ने थियो ।
तर काम पूरा नभएपछि भन्सार जाँच चौकी निर्माणको म्याद दुई पटक थपियो । निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण पक्षले बताएको छ । संयुक्त रूपमा नेपाल÷भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८५० मिटर लम्बाइ र ५०० मिटर चौडाइको हुनेछ ।
आईसीपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्र सडक निर्माणको काम शुरु भएको छ ।
लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग जोडिनेछ ।शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तरण गरेको थियो।
आईसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आईसीपीको निर्माणको काम गरिरहेको छ । दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकल प्रालिका परियोजना प्रबन्धक अवधेशकुमार साहले काममा अब विलम्ब नहुने बरु निर्माण लगत्तै हस्तान्तरण हुने चरणमा पुगेको बताए ।
निर्माण कम्पनीले निर्माण लगत्तै भारत सरकारलाई बुझाएपछि भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ । भन्सार जाँच चौकी निर्माण सम्पन्न भएकाले अब करीब दुई महीनामा सञ्चालनमा आउने विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांश अधिकारीले बताएका छन् ।
भन्सार जाँचचौकी सञ्चालनमा आएपछि भारत र तेस्रो मुलुकको आयात निर्यात सहज, सरल र व्यवस्थित हुने अधिकारीले बताए । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि वस्तुको लागत मूल्य कम हुने भएकाले उपभोक्तासमेत लाभान्वित हुनेछन् ।
निर्माण सम्पन्न भइसकेकाले भन्सार जाँच चौकी हस्तान्तरण र भन्सार कार्यालय व्यवस्थापन गरी सञ्चालनमा ल्याउन नेपाल सरकारले तत्काल पहलकदमी शुरू गर्नुपर्ने यसक्षेत्रका उद्योगी व्यावसायीको माग छ ।
अभियानका लागि रोशनी भट्टराईले लेखेको समाचार

Leave A Reply

Your email address will not be published.