Rashtriya Yuva Jagaran
Online Digital News

यौनसम्बन्ध राखेको प्रमाणित भएका दुवै जनालाई सार्वजनिक स्थलमा बेतको छडी

एजेन्सी
काठमाडौं, १६ कात्तिक २०७६ । इन्डोनेसियामा व्यभिचारविरुद्ध कानुन बनाउन सहयोग गर्ने सस्थाकै सदस्य तथा धर्म गुरुले एक विवाहिता महिलासँग अवैध यौन सम्बन्ध राखेको आरोप प्रमाणित भएपछि दुवै जनालाई सार्वजनिक स्थलमा बेतको छडीले हिर्काएर सजाय दिइएको छ ।
परस्त्रीसँग सम्बन्ध राखेको प्रमाणित भएपछि धर्मगुरुलाई २८ पटक र महिलालाई २३ पटक बेतको छडीले हिर्काएर सजाय दिइएको हो ।
परस्त्रीसँग सम्बन्ध राखेको ठहर भएपछि आचे उलेमा काउन्सिलका मुखलिस बिन मुहम्मदलाई २८ पटक त्यसरी पिटिएको बीबीसीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय एजेन्सीहरुले समाचार प्रकाशन÷प्रशारण गरेका छन् ।
उनीसँग सम्बन्ध राख्ने महिलालाई पनि २३ पटक बेतको छडीले हानिएको छ । एउटा पर्यटकीय समुद्री तटमा कारभित्र यौन क्रियाकलापमा संलग्न रहेको बेला उनीहरू समातिएका थिए ।
इन्डोनेशियाको आचे क्षेत्रमा कडा इस्लामिक शरिया कानुन अभ्यास गरिन्छ । आचेमा समलिङ्गी सम्बन्ध र जुवा खेलेमा पनि सार्वजनिक रूपमा कोर्रा वा छडीले हानिन्छ ।
“यो अल्लाहको कानुन हो । जो कोही पनि दोषी साबित भएमा कोर्रा खानुपर्छ,” आचे बेसार क्षेत्रका उपप्रमुख हुसेनी वाहाबले भने।
उनीहरूलाई बिहीवार दण्ड दिइएको र मुखलिसलाई काउन्सिलबाट निष्काशन गरिएको हुसेनीले बताए ।
दण्ड पाउने ४६ वर्षीय पुरुष सन् २००५ मा शरिया कानुन लागु भएयता व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु भएको बताइएको छ ।
आचेमा काउन्सिलले स्थानीय सरकार र संसद्‍लाई शरिया कानुन बनाउन र लागु गर्न सहयोग गर्छ ।
सन् २०१७ मा त्यहाँ दुई पुरुषलाई यौन क्रियाकलाप गर्दागर्दै पक्राउ परेपछि ८३ पटक बेतको लौरोले हानिएको थियो ।
यसरी लौरोले हिर्काउने व्यक्तिले परिचय नखुलोस् भनेर आँखाबाहेक अरू सबै शरीर छोपेका हुन्छन् ।
यस्तो सजाय सार्वजनिक स्थलमा दिइन्छ। तर बालबालिकालाई त्यो हेर्ने अनुमति छैन ।

Leave A Reply

Your email address will not be published.