Rashtriya Yuva Jagaran
Online Digital News

कुटनीतिक मर्यादाका निम्ति प्रदेश तथा स्थानीय अधिकारीले अब आफूखुशी विदेशी अधिकारीसँग भेटघाट गर्न नपाउने

रायुजा संवाददाता
काठमाडौं, १६ कात्तिक २०७६ । सरकारले प्रदेश स्तरबाट विदेशी अधिकारीसँग गर्ने भेटघाटमा मनोमानी भएको भन्दै सबै प्रदेशमा छुट्टै अधिकारी खटाउने तयारी गरेको छ ।
यसअघि सहसचिवलाई नै प्रदेशमा खटाउने योजना बनाइए पनि अहिले परिमार्जन गरी अधिकृतस्तरको कर्मचारीलाई खटाउने निर्णय भएको हो ।
केन्द्रलाई कुनै जानकारी नै नदिई प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा स्थानीय तहका पदाधिकारीले आफूखुसी विदेशी निकाय र व्यक्तिहरूसँग भेटघाट गर्दै थालेपछि कूटनीतिक मर्यादा कायम राख्न र केन्द्रमा सूचना अनिवार्य गराउनका निम्ति संघीय सरकारले परराष्ट्र मन्त्रालयका अधिकृतलाई प्रदेशमा खटाउने निर्णय गरेको परराष्ट्र स्रोतले बताएको छ । ति अधिकारीहरु मुख्यमन्त्रीको कार्यालयमा रहने बताइएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज गौतमले गत वर्ष केन्द्रीय सरकारले गरेको संघीय संरचनाको संगठन र व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणअनुसार परराष्ट्र मन्त्रालयका अधिकृतलाई हरेक प्रदेशमा खटाउन लागिएको बताए । हरेक प्रदेशमा अधिकृत खटाउन लोकसेवा आयोगले दरबन्दीमा स्वीकृति दिइसकेको छ । प्रदेशमा जाने अधिकृतलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले तालिम दिएको छ । अब तीन महिना नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिनेछन् । तालिमपछि उनीहरू तोकिएको दरबन्दीमा खटिने प्रवक्ता गौतमले बताए ।

Leave A Reply

Your email address will not be published.