Rashtriya Yuva Jagaran
Online Digital News

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै पवित्र पर्व छठ समापन

Image may contain: one or more people and outdoor

रायुजा संवाददाता
विराटनगर, १७ कात्तिक २०७६। बिहीबारदेखि मनाइँदै आएको छठ पर्व शनिबार अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो भने आज बिहानै उदाउँदो सूर्यलाई अर्घ चढाएर समापन गरिएको छ ।
सामाजिक सद्भाव, भाईचाराको सम्बन्ध स्थापित गराउँदै एकताको पर्वको रुपमा रुपान्तरित हुँदै गएको छठको महिमाले सबै जातजाति, धर्म र समुदायमा छोइसकेको छ । खोला, नदी किनारहरु कतै खाली नदेखिएको पवित्र पर्व छठका भक्तजनहरुले उल्लासमय ढंगबाट पर्वको समापन गरेका छन् ।
मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा अनुसार अन्त्य भएको हो ।
व्रतालुहरुले नदी र तलाउमा अर्घ्य सामग्री लिई सूर्यलाई पूजाअर्चना गरे । अर्घ्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु, मेवा–मिष्ठान, गेडागुडी, कन्दमूल र विभिन्न वनस्पति राख्ने चलन छ ।
छठमा भुसवा, ठेकुवा लगायतका पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूपा, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । भोली पल्ट बिहान तीनै सामग्रीसहित उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत रुपमा अन्त्य हुन्छ ।
छठ पर्वको लागि विराटनगरसहित मोरङ, सुनसरी झापालगायत तराईका भुभागका विभिन्न जलाशय झकिझकाउ सिंगारिएका थिए । विराटनगर र आसपासका केशलिया खोला, सिंघिया खोला, बुढी खोला, नहर तथा इटहरी, धरान विभिन्न स्थानका पोखरी तलाउ सफा गरि झिलिमिली बत्ति बालेर मण्डप सहित सजाइएको हो । अर्घ चढाउन आज बिहान सबेरै व्रतालु जलाशयमा पुगेका हुन् ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।
धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।
आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।
छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो ।

Leave A Reply

Your email address will not be published.