मुसहर बस्ति निर्माणमा इटहरी उपमहानगर जुट्दै, बस्ति निर्माणका लागि जग्गा निरीक्षण जारी

59

रायुजा संवाददाता
इटहरी, १७ कात्तिक २०७६। इटहरी उपमहानगरपालिका नगरक्षेत्रमा भएका मुसहरहरुको समृद्धिका निम्ति बस्ति निर्माणमा जुट्ने भएको छ । इटहरी उपमहानगरपालिकाका मुसहर लक्षित कार्यक्रम मुसहर बस्ति विकास कार्यक्रममार्फत उक्त बस्ति निर्माण गर्नेभएको नगरप्रमुख द्धारिकलाल चौधरी बताउँछन् ।
तराईमधेश सम्वृद्धि कार्यक्रमको सहयोगमा इटहरी उपमहानगर अगुवाईमा यस बर्ष १५ बढी घर निर्माणका लागि ७७ लाख बजेट छुट्टिएको नगरप्रमुख चौधरीले बताए । नगरप्रमुख चौधरीका अनुसार उक्त घर निर्माण गरेर अतिविपन्न मुसहर समूदायलाई हस्तान्तरण गरिने छ । बर्षौ देखि बाटो छेउछाउ बसेका सुकुम्वासी मुसहर समूदायका ब्यक्तिहरुलाई घर निर्माण गर्नका लागि सार्वजनिक जग्गाको नीरिक्षण शनिबार गरिसकिएको छ । नगरप्रमुख चौधरीसहित उपप्रमुख लक्ष्मी गौतम, वडाध्यक्षहरु भगवानलाल साहु, दिपनारायण चौधरी, वडासदस्य तेजनारायण चौधरीले प्राविधिक टोली सहित वडा नम्वर १६ को घोइङदा खोला छेउ र पोखरियामा रहेको सार्वजनिक जग्गा नीरिक्षण गरिएको छ । चालु आर्थिक बर्षमा नै मुसहर वस्ति विकास कार्यक्रम अन्तर्गत घर निर्माण हुनेछ ।