Rashtriya Yuva Jagaran
Online Digital News

लाखौं रकम पुग्दा पनि विद्युत महसुल नतिर्नेको लाईन काट्दै विराटनगर वितरण केन्द

जुट मिल अन्धकारमै, अस्पताल र उद्योगहरुको बक्यौता धेरै

विराटनगर, १९ कात्तिक २०७६ । लाखौं रकम बक्यौता हुँदा समेत विद्युत महसुल नतिर्नेहरुको लाईन नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले काट्न सुरु गरेको छ ।
विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजीव सिंहका अनुसार सो कार्यालयले विराटनगर जुट मिल, रेलवे कार्यालय, कोशी अस्पताल जस्ता संस्थाले समयमै महशुल नतिरेर बक्यौता धेरै भएपछि लाइन काट्न सुरू गरेको छ । विराटनगर जुट मिलको भने तीन महिना अघि नै लाइन काटिएको हो ।
विराटनगर जुट मिलले मिलतर्फको मात्रै ९६ लाख ६७ हजार महशुल तिर्न बाँकी छ । त्यस्तै क्वाटरमा दिएको लाइनको २ लाख २२ हजारसमेत गरेर सो मिलसँग प्राधिकरणले १ करोड जति महशुल लिन बाँकी छ ।
त्यस्तै कोशी अस्पतालले २८ लाख बराबरको महशुल तिर्न बाँकी छ । सो अस्पतालको विद्युत लाइन गत असारमै काट्न खोज्दा स्वास्थ्यसचिव रामप्रसाद थपलियाले फोन गरेर रोकेका थिए । त्यसको लगत्तै अस्पतालले १ करोड रूपैयाँ तिरेको थियो ।
अहिले फेरि २८ लाख बराबर महशुल पुगेको प्राधिकरणले बताएको छ । रेलवेले ५ लाख १९ हजार ९ सय ३० रूपैयाँ महशुल तिर्न बाँकी छ ।
विद्युत प्राधिकरणको विराटनगर वितरण कार्यालय अन्तर्गत ६७ हजार ६ सय ६१ ग्राहक छन् । विराटनगर महानगरपालिका, जहदा, कटहरी, बुढीगंगा र ग्रामथान गाउँपालिका विराटनगर वितरण कार्यालय अन्तर्गत पर्दछन् । मासिक २४ करोडको हाराहारीमा विराटनगर वितरण कार्यालयले महशुल उठाउँदै आएको छ ।
विराटनगर वितरण कार्यालयले रानी सबस्टेशन र टंकी सबस्टेशनबाट ११ केभी र ३३ केभी मार्फत विद्युत आपूर्ति गर्दै आएको छ । उच्चतम विद्युत माग भएका बखत विराटनगर वितरण कार्यालय अन्तर्गत ५६ मेगावाट विद्युत खपत हुने गर्दछ ।
सो कार्यालयले महशुलमा कडाई गर्नुका साथै विद्युत चुहावट घटाउन पनि अभियान थालेको छ । आर्थिक वर्ष २०७४र०७५ मा विद्युत चुहावट १२ दशमलव ८६ प्रतिशत रहेकोमा अहिले चुहावट प्रतिशतलाई ९ दशमलव ६८ प्रतिशतमा झारेको सो कार्यालयका प्रमुख सिंहले बताए । उनी विराटनगरको प्रमुख भएर आएपछि आफ्नो सेवा क्षेत्रभित्र ९७ वटा नयाँ ट्रान्सफरमर जडान गर्ने काम भैसकेको छ ।
ग्राहकको बढ्दो संख्यासँगै विद्युत खपत बढे पनि ट्रान्सफरमरको क्षमता नबढाउँदा क्षमताले नभ्याउने गरेकाले बारम्बार लाइन जाने गरेको थियो ।
प्राधिकरणले हालको ७४ दशमलव ४ एमभीए क्षमतालाई दोब्बर बनाउनुका साथै नयाँ पोल र नयाँ तार फेरेर पटक पटक विद्युत जाने समस्यालाई कम गर्ने प्रयास गरिरहेको छ ।
विराटनगर क्षेत्रमा सालाना सरदर सात प्रतिशतका दरले विद्युतका ग्राहक बढिरहेका छन् । ग्राहकले माग गर्नेबित्तिकै मागकर्तालाई मिटर उपलब्ध गराउन थालिएको छ ।
उदघोष दैनिक अनलाईनबाट

Leave A Reply

Your email address will not be published.