विवेकशिलबाट कास्कीमा शर्मा र वाग्लुङमा भण्डारी उम्मेदवार छनौट

55

रायुजा संवाददाता
वीरगञ्ज, २० कात्तिक २०७६ । विवेकशील नेपालीबाट कास्की–२ र बाग्लुङ २(ख) मा उम्मेदवार चयन गरेको छ ।
पार्टीले कास्की क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका लागि जमुना शर्मा र वाग्लुङ २ (ख) प्रदेश सभाका लागि सन्तोष भण्डारीलाई उम्मेदवार चयन गरेको हो।
गण्डकी प्रदेशको पोखरामा विवेकशील नेपाली दलको कात्तिक १८ र १९ गते बसेको बैठकले सो निर्णय गरेको हो।
कास्की बैदाम घर भएकी जमुना शर्मा महिला अधिकारको क्षेत्रमा लामो समयदेखि नेतृत्वदायी भूमिका खेल्दै आएकी छन्। मनोसामाजिक परामर्शमा समेत उत्तिकै दख्खल शर्मा कानुन, समाजशास्त्र, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा पोख्त छिन्।
यस्तै, सन्तोष भण्डारी बुर्तिवाङका स्थानीय युवा उद्यमी तथा व्यवसायी हुन्। पछिल्लो समय उनले विवेकशील नेपाली दलमा बाग्लुङ संयोजक हुँदै गण्डकी प्रदेश समितिमा सशक्त भूमिका खेल्दै आएका छन्।