Rashtriya Yuva Jagaran
Online Digital News

प्रदेश एकका नवनियुक्ति प्रदेशप्रमुख अधिकारी प्यासीबाट पदभार ग्रहण

रायुजा संवाददाता
विराटनगर २१ कात्तिक २०७६ । प्रदेश १ का लागि नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले बुधबारदेखि पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहणपछि बोल्दै प्रदेश प्रमुख प्यासीले प्रदेशभित्रका राजनीतिक शक्तिहरु, सामाजिक सांस्कृतिक आयामहरु, आर्थिक तथा शैक्षिक क्षेत्रको अवस्थाको विषयमा जानकार भएपछि त्यसलाई व्यवस्थित गर्न लागि पर्ने बताए । प्रदेश प्रमुख प्यासीलाई प्रदेश राजधानी विराटनगरमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजना मनत्री इन्द्र आङ्बो, प्रमुख सचिव सुरेश अधिकारीलगायतका विशिष्ट व्यक्तिहरुले स्वागत गरेका थिए ।

को हुन् सोमनाथ अधिकारी ?

प्रदेश १ को प्रदेश प्रमुखमा नियुक्त भएका सोमनाथ अधिकारी कास्कीका पुराना कम्युनिष्ट नेता हुन् । कुनै बेलाका राष्ट्रिय पञ्चायत सदस्य प्यासी आसन्न उपनिर्वाचनमा उम्मेदवारका आकांक्षीसमेत थिए । तर नेकपाले दिवंगत रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको भोलिपल्टै प्यासीलाई प्रदेश प्रमुख तोकेको छ ।

२००७ साल पुस २२ गते कास्कीको बाटुलेचौरमा जन्मिएका प्यासी २०२४ को प्रवेशिका परीक्षापछि २०२५ बाट ढिकुरपोखरीको पाउदुरको स्थानीय विद्यालयमा पढाउन थाले । त्यति बेला अधिकारीसहित १२ जनाले गण्डकी–धौलागिरी कम्युनिष्ट क्रान्तिकारी पार्टी गठन गरे । पार्टीले उनलाई पृथ्वीनारायण क्याम्पसको जिम्मेवारी दियो ।

पार्टीको २०२७ सालको अन्त्यतिर भर्ना भएपछि प्रगतिशील विद्यार्थीका तर्फबाट स्ववियु सभापतिमा होमिए र बिजयी पनि भए । २०२८ साल जेठमा गिरफ्तार भएका उनी एक महिनापछि छुटे ।

स्ववियु कार्यकाल सकिएपछि २०३० पछि पूनः शिक्षण पेशामै फर्किए । दिउँसो शिक्षण पेशामा आबद्ध भए पनि साँझमा भने अभिभावकसँग संगठन बनाउने कार्यमा लागे । २०३१ सालमा पूनः उनीविरूद्ध ‘वारेन्ट’ जारी भयो ।

उनलाई घरबाटै सशस्त्र हतियारधारी प्रहरीले घेरा हाली गिरफतार गरे । त्यसको नौ दिनमै उनलाई जोमसोम कारागार चलान गरियो । त्यसको नौ महिनापछि उनी २०३४ मा नख्खु कारागार चलान भए । जेलबाट छुटेपछि २०३६ को विद्यार्थी आन्दोलनमा उनी कास्कीमा आएर सक्रिय भए ।

विद्यार्थी आन्दोलनकै क्रममा उनीमाथि निर्घात कुटपिट समेत भएको थियो । २०३६ सालको चुनावबाट दोस्रोपटक उनी पिएन क्याम्पसमा सभापति चुनिए । तत्कालीन मालेको राजनीतिमा सक्रिय प्यासी माक्र्सवादीसँगको एकीकरणपछि नगर कमिटी सचिव हुँदै जिल्ला कमिटी उपसचिव बनेका थिए ।

२०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचनमा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्यका रूपमा चुनिए । त्यतिबेला देशभरिमा मालेका जम्मा पा“च जना निर्वाचित भएका थिए । राष्ट्रिय पञ्चायत संसदमै बहुदलीय व्यवस्था र जनसंविधानसभाको माग गरेपछि उनलाई १५ दिन पदबाट निलम्बनसमेत गरिएको थियो ।

बहुदलीय व्यवस्था स्थापनापछि उनी तीन कार्यकाल १२ वर्षसम्म कास्कीको पार्टी सचिव भए । २०४८ सालको आम निर्वाचनमा कास्की–३ सांसद पनि भए ।

०५१ को मध्यावधि र ०५६ को आम निर्वाचनमा उम्मेदवार भए पनि बिजयी भने हुन सकेनन् । पार्टीमा भने उनले आठौं र नवौं महाधिवेशनमा निर्वाचन आयोग प्रमुखका रूपमा काम गरेका थिए ।

Leave A Reply

Your email address will not be published.