Rashtriya Yuva Jagaran
Online Digital News

सरकारको निर्णय स्वभाविक तर पदमुक्त गर्ने संस्कार गलत : तुम्बाहाङ

प्रदेश १ का निवर्तमान प्रदेश प्रमुख तुम्बाहाङको बिदाई

रायुजा संवाददाता
विराटनगर २१ कात्तिक २०७६ । प्रदेश १ का निवर्तमान प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङलाई एक कार्यक्रमबीच सोमबार बिदाई गरिएको छ ।
प्रदेश सरकारका विभिन्न मन्त्री तथा शुभेच्छुकहरूले तुम्बाहाङलाई विदाइ गरेका थिए । मुख्यमन्त्री शेरधन राई, प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले विदाई गरेका हुन्।
सोमबार पदमुक्त गरिएका प्रदेश प्रमुख तुम्बाहाङलाई उनकै निवासमा पुगेर विदाई गरिएको हो । विदाईका क्रममा मुख्यमन्त्री राईले प्रदेश प्रमुख तुम्बाहाङलाई दोसल्ला ओढाउँदै मायाको चिनोका रूपमा करूवा प्रदान गरेका थिए ।
बिदाई कार्यक्रममा बोल्दै तुम्बाहाङले सरकारको निर्णय स्वभाविक भए पनि सम्मानित र आलंकारिक पदमा रहेका व्यक्तिलाई अठात रुपमा विना कारण पदमुक्त गर्ने संस्कार गलत भएको टिप्पणी समेत गरेका छन् ।
उनले भने– ‘अहिले हामी त्यसको शिकार भयौं । तर आगामी दिनमा यो आफ्नो मान्छे, त्यो अर्को गुटको मान्छे भन्दै पूर्वाग्रह राखेर सम्मानित पदमा रहेकालाई हटाउँदै जाने हो भने नराम्रो संस्कार विकास हुँदै जान्छ ।’
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातै प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेकी थिइन् । धरानमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा तरहराको जंगलनजिक पुग्दा मुख्य सचिव लोकदर्शन रेग्मीले फोन गरेर पदबाट राजीनामा दिन वा बर्खास्ती रोज्न भनेको तुम्बाहाङले बताए ।
उनले भने– ‘मैले पनि राजीनामा दिन्न बरू बर्खास्त नै गरिदिनू भन्ने जवाफ दिएँ ।’ अब पार्टीमा सल्लाह गरेर अघि बढ्ने उनले प्रतिक्रिया दिए । दुई दशक लामो प्राध्यापन पेशाको अनुभव बटुलेका प्रदेश प्रमुख तुम्बाहाङ सार्वजनिक कार्यक्रममा सहभागी हुँदा पुराना अनुभवहरूलाई ठट्यौली पाराले सुनाउँथे ।
उनले प्रदेश सरकारलाई असहयोग हुने गरी कहिल्यै पनि सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि गएका विधेयकहरूलाई प्रदेश सरकारकै भावनाबमोजिम उनले सोही दिन प्रमाणीकरणसमेत गरिदिने गरेका थिए ।

Leave A Reply

Your email address will not be published.