Rashtriya Yuva Jagaran
Online Digital News

घरघर तुलसीको विवाह गर्दै हरिबोधिनी एकादशी मनाइयो

रायुजा डेक्स
विराटनगर, २२ कार्तिक २०७६ । प्रदेश १ को राजधानी विराटनगर, इटहरी, दुहवी, विराटचोक, पथरी, बेलबारी, उर्लाबारी, दमक, बिर्तामोड, धरान, झुम्कासहित देशभरभर आज घरघरमा तुलसीको विवाह गर्दै हरिबोधिनी एकादशी धुमधामले मनाइएको छ । भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ ।
आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।
विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदीनालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।
तुलसीको मठनजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।

Leave A Reply

Your email address will not be published.