रायुजा संवाददाता
केराबारी (मोरङ), ३० कात्तिक २०७६ । केराबारी बजार क्षेत्रको सडक कालोपत्रे विवादमा परेको छ । ड्रेन र नाली बिना सडक निर्माणमा स्थानीयबासीको विरोध भईरहेको बेला उक्त क्षेत्रमा निर्माण भईरहेको कालोपत्रे गुणस्तरहिन भएको भन्दै स्थानीयले विरोध गरेपछि उक्त कार्यमा विवाद उत्पन्न भएको हो ।
२०७६ साल कात्तिक मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएअनुसार छिटो काम सक्ने गरी गुणस्तरमा लापरवाही गरेको भन्दै स्थानीयले विरोध गरी उक्त कालोपत्रे उप्काई दिएका छन् ।
सम्झौतामा सडकको बेस (मोटाई) न्यूनतम ४० सेन्टिमिटर र चौडाई ५ मिटर रहने भए पनि कतिपय स्थानमा २० सेन्टिमिटर पनि नभएको स्थानीयको गुनासो छ ।
त्यसो त ठेकेदार मात्र होइन स्थानीयबासी स्थानीय सरकारप्रति पनि रुष्ट देखिन्छन् । उक्त सडक निर्माणमा स्थानीय सरकारको निगरानी नभएको उनीहरुको भनाई छ । स्थानीयबासीले जनप्रतिनिधि र प्राविधिकहरू भरिख नखटिने खटिए पनि निर्माण कम्पनीलाई कडाई गर्न नसक्दाको परिणाम आज गुणस्तरहिन सडक बनेको आरोप स्थानीयको रहेको छ ।
केराबारी गाउँपालिकाअन्तर्गत मच्छिन्द्र चोकदेखि पश्चिम देउरालीचोक र वर्षाचोकदेखि हाटखोला जाने बाटोमा धुलैधुलोका बीच कालोपत्रे गरिएको उपभोक्ताहरू बताउँछन् ।
कालोपत्रे गरिएको ठाउँको बेसमा बेटमिनको मात्रा नै नभएको पाइएको थियो । हातले उप्काएर हेर्दा समेत धुलैधुलोका बीच कालोपत्रे गरिएको भेटिएको उनीहरूको भनाइ छ ।
गाउँपालिकाको एक करोड रूपैयाँभन्दा बढीको लागतमा ठेकेदार कम्पनी म्याद थपेर पनि कात्तिक मसान्तभित्र सक्ने सम्झौता भएको थियो ।
मच्छिन्द्र चोकदेखि पश्चिमपट्टी झण्डै ५० मिटर आसपासमा सडकको दायाँ बाँया साइडमा रहेको धुलोसमेत नहटाई सडक कालोपत्रे गरेको स्थानीयबासी बताउँछन् । यसअघि पनि केराबारी–८ को हजार बिघामा सडक कालोपत्रे गर्दा सडक गुणस्तरहीन गरेको भन्दै स्थानीयबासीले अवरोध गरेका थिए।
स्थानीयबासीको अवरोधपछि गाउँपालिका उपप्रमुख शान्तिकुमारील लिम्बू भूजेल र वडा नम्बर ८ का वडाध्यक्ष मनोज खड्काले स्थानीयबासीलाई विश्वस्त पारेपछि पूनः कालोपत्रे सूचारू गरिएको थियो ।
गुणस्तर नपुगेको ठाउँमा पुर्याउने र आवश्यक मरमत गर्ने आश्वासनपछि स्थानीयबासीको विरोध साम्य भएको थियो ।
गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीले सडक निर्माण गर्ने ठेकेदार कम्पनी राम्रो भए पनि स्थानीयबासीले निगरानी नगर्दा कर्मचारी र त्यहाँ खटिने मजदुरहरूले जिम्मेवारी पूरा नगरेको बताए । उपभोक्ता र सरोकारवाला सबैले त्यसको निगरानी गरे काम राम्रो हुने उनको भनाइ छ ।

Comment here