राजनीतिक क्रान्ति यिनै मूर्खहरुको व्यवसाय जस्तै बन्यो । कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे । जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची शुरु भयो । गाडी एउटा छ, दावी सवैको । गाडी कसको हो, कसैलाई थाहा छैन् । अहिलेको संविधान त्यही गाडीजस्तै बन्यो । ३ करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन । आज देश भागशान्ति जयनेपाल बन्नुको परिणाम त्यही अप्राकृतिक कर्मको परिणति हो ।

========================

संकेत कोइराला

विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनैबेला क्यालिफोर्नियाको गभर्नर थिए । जुनबेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गरियो– ‘आर्नल्डले चाहेको समयमा त्यो होटलमा निशुल्क बस्न पाउने छन् ।’ समयको पदचापसंगै उनी पदविहीन भए । शरीर जीर्ण हुँदै गयो ।
मानिसले उनको ओहदा र औकात बिर्सदै गए । एकदिन उनी होटलले दिएको बचन सम्झिएर बास बस्न गए । तर नयाँपुस्ताका होटल स्टाफले आर्नल्डलाई सभ्य व्यवहार गरेनन । विना पैसा होटलको सुविधा दिन नसकिने भनेर फर्काइदिए । आर्नल्ड दुखी भएनन् । बरु संगै रहेको स्लिपिङ व्याग ओढेर आफ्नै मूर्तिमुनि सुते ।
‘यस्तो प्रतिष्ठित मानिस किन खुल्ला आकासमुनि बास ?’ सर्वसाधारणको जिज्ञासा निदान गर्दै उनी भन्छन– ‘धन, पद, पावर र प्रतिष्ठा हुन्जेल दुनियाँ तपाईंको साथ हुन्छ, म्याउ म्याउ गर्छ , हात मोल्छ , खुट्टा ढोग्छ । यी सवै अस्थायी हुन् । यी चीज सधैं तपाईंसंग रहँदैन । यो नरहने वित्तिक्कै नजिकिएकाहरु टाढा भाग्छन् । त्यसैले पद र पैसामा कहिल्यै घमण्ड नगरौं । आफ्नै मूर्तिमुनिको मेरो सुताई यही सत्य सन्देशको उपज हो ।’
एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्व हुन्छ । मेलम्चीको पानी धारा धारामा झारिदिनुस्, धेरै प्रश्नको उत्तर त्यसले दिन्छ । जिब्रोमा नून बोकेर तरकारी चाख्ने राजनीतिक संस्कारले पुस्तौनी घर गर्दा हरेक राजनीतिक परिवर्तन चटक बन्दै आए । राजनीतिक स्वतन्त्रताले कसैको पेट भरिन्न ।
न त क्रान्तिले आगो बाल्छ । आगो बाल्न त सानो भएपनि आगाकै झिल्को चाहिन्छ । एउटा विद्वानका लागि मूर्खको प्रश्न सर्वाधिक ठूलो विश्वविद्यालय हो । त्यस्तै सबैथोक भएर पनि व्यवस्थापन हुन नसकेको भूगोल सफल राजनेताका लागि चिट्ठा हो । यो सत्य नबुझेर जब नेताको बोली, बचन व्यवहार नै मूर्खको कोटीमा अनुवाद हुन्छ, त्यसको दुष्परिणाम धरामा उभिएकादेखि गर्भमा रहेकाले समेत भोग्नुपर्छ ।
कुनै ठाउँमा चार मूर्ख रहेछन् । उनीहरुले उद्यमका लागि पेट्रोल पम्प खोल्ने निधो गरेछन् । आश्चर्य, एउटा गाडी पनि इन्धन भर्न आएनछ । किन भनेर खोज्दै लाँदा थाहा भयो– ‘उनीहरुले एकतलामाथि पम्प खोलेका रहेछन् ।’ लौ भएन भनेर त्यही ठाउँ रेष्टुरेन्ट खोलेछन् । तैपनि चरोमुसो छिरेनछ । उनीहरुले रेष्टुरेन्ट त खोले तर पेट्रोल पम्पको साइनबोर्ड निकाल्नै विर्सिएछन् । अन्तिम विकल्प स्वरुप ती मुर्खले ट्याक्सी व्यवसाय गर्न ट्याक्सी किनेछन् । ट्याक्सी चढ्ने ग्राहक खोज्न त्यही ट्याक्सी चढेर चारैजना शहर पसे । तर ट्याक्सीभरि मान्छे देखेपछि भरिएको ट्याक्सी ठानेर कसैले सोध्ने हिम्मतै गरेनन् ।
नेपालका राजनीतिक क्रान्ति यिनै मूर्खहरुको व्यवसाय जस्तै बन्यो । कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे । जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची शुरु भयो । गाडी एउटा छ, दावी सवैको । गाडी कसको हो, कसैलाई थाहा छैन् । अहिलेको संविधान त्यही गाडीजस्तै बन्यो । ३ करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन । आज देश भागशान्ति जयनेपाल बन्नुको परिणाम त्यही अप्राकृतिक कर्मको परिणति हो ।
अरु हिँडेको बाटोमा हिँड्ने नेता नै हुन सक्दैन । नेताले बाटो पछ्याउने हैन, बाटो बनाउने हो । बाटो नभएको ठाउँमा पाइतालाको डोब छोड्ने नेता कहिल्यै मर्दैन । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई सोधियो– ‘तपाईं सामान्य जुत्ता सिलाउनेको छोरो कसरी अमेरिकाको राष्ट्रपति हुनुभयो रु’ उनले मुस्कुराएर जवाफ दिए– ‘मैले पाइला पाइलामा आफ्नै परीक्षा लिएँ । हरेक असफलताबाट केही सिकें । त्रुटी सुधार्दै नयाँ बाटो पहिल्याउँदै गएँ । सफलताको सूत्र पुस्तकमा नभई मेहनतमा हुन्छ भन्ने सत्य आत्मसात गरें ।’

सुख र सामान्य सोचले परिवर्तन सम्भव छैन् । पागलपन र वैराग्यले मात्र विकास सम्भव छ । त्यसैले नेतागणहरु चटके हैन, पागल बन्नुस् । देश चलाउने योग्यता के हो रु पारखीहरु भन्छन– ‘खाँटी कुटनीतिज्ञ त्यो हो, जो महिलाको जन्मदिन सम्झन्छ तर उमेर सम्झदैन् ।’ जसले विश्वमा परिवर्तन ल्याए, आरम्भका दिनमा तिनीहरु इतिहासका प्रहसन पात्र भए । सन् १६०० मा गणितज्ञ एवं खगोलविद् गिआर्दानो ब्रुनोले पृथ्वी बाहिर जीवन हुनसक्ने नविन विचार ल्याए ।
उनलाई धर्मको खिलाफ बोलेको भन्दै रोमको मध्य शहरमा जिउँदै जलाइयो । मानव बस्तीको खोजीमा समुद्री यात्रामा निस्कने कुरा गर्दा क्रिष्टोफर पागल बनाइए । यस्तै चाल्र्स डार्विनले मानवलाई बाँदरको सन्तानभन्दा समाजले मगज खुस्किएको भन्दै जीवनभर अपमान दियो । ओरविल राइट र विल्वर राइटले आकाशमा उड्ने परिकल्पना गर्दा रोयल सोसाइटीका अध्यक्षले समेत उडाउनु उडाए ।
ज्नेल्याण्डको प्रस्ताव ल्याउँदा वाल्ट डिज्नेलाई घरकै सदस्यले पागल भन्दै आलोचना गरे । विना तार सूचनाको एजेण्डा ल्याउने मार्कोनीको खेदो खनेर त्यो बेलाको समाज वर्षौं थाकेन । हो, यस्तै पागल बन्ने पालो हाम्रो चाहिँ कहिले हो रु भगवानले त भगवानको विशेषण पाउन थुप्रै अग्निपरीक्षा पास गर्नुपर्छ भने मानिसको के कुरा रु विश्वका प्रख्यात संगीतज्ञ मोजार्टसंग बाल्ने दाउरा थिएन, न त लगाउने न्यानो कपडा नै । यहाँसम्म कि खुट्टाको मोजा हातमा लगाएर उनी संगीत सिर्जना गर्थे ।
बाटो हिँड्दा प्रकाश भेटनु भएको छैन भने आफैं बत्ती भइदिनुस् । आस्थाले बालिएको दीयो हावाले मात्र निभ्दैन । तेल नभएर पनि निभ्छ । तेल नभएर बत्ती निभ्नु भनेको तपाईंभित्रको आयत खुम्चनु हो ।
खान नपाएर कलिलो उमेरमै कुपोषणले वितेका मोजार्टले छोटो समयमा नै आफूलाई विश्वमै अमर बनाए । चार्ली च्याप्लिन बाउमाले छोडेर गएपछि सडकमा मागेर आफ्नो प्राण धाने । कालान्तरमा विश्व विख्यात हास्यकलाकारको ख्याती यिनको नामसंगै जोडियो । असह्य दुखको पीडा खप्न नसकी विश्व प्रसिद्ध लेखक म्याक्सिम गोर्कीले आफ्नो ज्यान आफैंले लिए । यतिका पीडाका शूलबीच पनि मानिसले अमरत्वको झण्डा गाडेका छन् । पीडालाई पनि आफूमाथि हावी हुन नदिएर यति सुन्दर जीवनको सूत्र फेला पारेका छन् भने हामी दुखको लेस नपाएकाहरुलाई कर्मको यज्ञ गर्न के ले छेकेको छ ?
परिस्थितिले नभई मनस्थितिले टुट्छ मान्छे । जाँगर भएको मानिसले माहुरीको चाकाबाट नभएर झारपातबाट पनि मह बनाउन सक्छ । यो धरामा रहेका हरेक मानिसको खाने थाल र जिन्दगीको हाल अलग छ । जन्मिदाको खाट र मर्दाको घाट अलग छ । कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुशी हुन्छ । वास्तवमा आफ्नो को हो रु त्यो देखाउने हक समयलाई मात्र छ । गल्तीको जिम्मेवारी नलिने मानिस कहिल्यै अघि बढ्न सक्दैन । उज्यालोमा मात्र सबैले साथ दिने हुन, अँध्यारोमा त आफ्नै छायाँले पनि छोडिदिन्छ । कहिले नभुलौं, फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ ।
सत्य नबुझी अनुमान गर्नु दुखी हुनुको प्रमुख कारण हो । कोही कसैको पछि, न अघि नै लाग्न जरुरी छ । नेतृत्वका लागि विश्वास गरेको पात्र नालायक निस्कियो या आफूले नेतृत्व गर्दा अरुले विश्वास गरिदिएनन भने हालत के हुन्छ रु त्यसैले यात्रा समदूरीमा गरेर साथी बन्नुस् । बाटो हिँड्दा प्रकाश भेटनु भएको छैन भने आफैं बत्ती भइदिनुस् ।
आस्थाले बालिएको दीयो हावाले मात्र निभ्दैन । तेल नभएर पनि निभ्छ । तेल नभएर बत्ती निभ्नु भनेको तपाईंभित्रको आयत खुम्चनु हो । एउटा असल र कर्मशील नेताले मात्र आशा, कल्पना र विश्वासको त्रिवेणी निर्माण गर्न सक्छ । मुखमा फिंज निकालेर अन्टसन्ट बोल्ने काम त रत्नपार्कमा ओखती बेच्नेले पनि गर्छ ।

Comment here