१ नम्बर प्रदेश, विराटनगर–१३ जेठ २०७७ । सनातन हिन्दु धर्मावलम्बीहरुले शुभकार्य, कर्मकाण्ड प्रक्रिया, पुजाआजा या नविन चिन्तन गर्नु अगाडि गरिने वा लिइने नाम हो गणेश वा गजानन्द । भगवान शंकर (शिव) र पार्वतिका पुत्र तिनै गणेश भगवानको आज जेष्ठशुक्ल पक्ष चर्तुर्थी तिथीमा पर्न गएको जन्मोत्सव विश्व महामारी कोभिड–१९ को कहरमा प¥र्यो । यद्यपि आस्था, विश्वास र समर्पणको धरोहर भगवान गणेशप्रतिको भक्ति विधिपूर्वक निष्ठापूर्वक देशभर घरघरमै गरेर भगवान गणेशको आराधना, भजनकिर्तन गरिएको छ । अझ नजिकै भगवान गणेशको मन्दिर भएका स्थानमा सामाजिक दुरी कायम गरेर मन्दिरभित्रै गएर पनि भगवान गणेशको पुजा आराधना गरी धार्मिक आस्था, निष्ठा र समर्पण देखाएका छन् । विगत वर्षझै भगवान गणेशको जन्मोत्सव हर्षोल्लाषपूर्ण हुन सकेन् । आजको दिन भगवान गणेशप्रति समर्पणको दिन पनि हो । आजकै दिनबाट भगवान गणेशका निम्ति मंगलबार ब्रत बस्ने र लामो समयदेखि ब्रत बसेकाहरुले छोड्नसक्ने दिन भएकाले पनि यसको महत्व अझ बढेको छ । धेरै भक्तजनहरुले आजदेखि गणेशको ब्रत बस्न सुरु गरेका छन् भने कतिले आजदेखि गणेशप्रति समर्पित रहँदै बस्दै आएको ब्रतलाई बिर्सजन गरेका छन् ।
गणेश नाम कसरी रहन पुग्यो
पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकामा राखि आफु भित्र बसिन् । यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन् । तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न नदिने भए । यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्न सकेनने अन्तमा भगवान शिव स्वयम् गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशूलले बालकको टाउको काटेर अलग गरी भित्र प्रवेस गरे । भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आएँ ।“ यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन् । यो देखेर भगवान शिवलाई पनि दुःख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिएँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ“ यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए । त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटोको रूपमा अर्को प्राणी बनाएर त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।
सबैभन्दा पहिला पुजिने भगवान गणेश
एक पटक देवताहरूमा कसको पूजा पहिले गरिनु पर्छ भन्ने विषयमा छलफल चल्यो । देवताहरूका परम पिताम्मह ब्रह्माजीले जो पुरा ब्रह्माण्डको परिक्रमा गरेर पहिले स्वर्गमा पुग्छ त्यसको पूजा पहिले हुनेछ भन्ने निर्णय सुनाए । ब्रह्माजीको निर्णय सुनेर इन्द्र, वरुण, कुबेर आदी देवताहरू आफ्नो आफ्नो बाहनहरूमा बसेर ब्रह्माण्ड परिक्रमाको लागि निस्किए । भारी जिउ र त्यसमाथी मुसा बाहन भएका गणेश नत दौडेर देवताहरूलाई जित्न सक्थे नत मुसाले नै बोकेर गणेशलाई परिक्रमाको वाजी जिताउन सक्थ्यो । गणेश निकै चलाख र ज्ञानी देवता मानिन्छन् । त्यो वाजी जित्ने गणेशले एक दृढ विचार बनाए । उनी ब्रह्माण्ड परिक्रमामा नगएर कैलाश पर्वत आफ्नी माता पार्वती भएको ठाउँमा गए । माता पार्वतीलाई बाबु शिव भएको ठाउँमा गएर बस्न आग्रह गर्न थाले । गणेशको कुरा सुनेर पार्वतीजी शिवको छेउमा गएर बसिन् । यसरी आमा बाबु दुवैलाई एकै ठाउँमा राखेर सात पटक परिक्रमा गरेर ब्रह्माजी भएको ठाउँमा गए । ब्रह्माजीले गणेशले के गर्छन् भन्ने कुरा सबै हेरेका थिए । आमा बाबु भन्दा ठुलो यो ब्रमाण्ड छैन । ब्रह्माण्ड भन्दा पनि ठुला आमा बाबु हुन् भन्ने कुरा सिद्ध गरेर देखाएकाले ब्रह्माजी गणेशबाट निकै खुसी भएर उनलाई देवताहरूमा सबै भन्दा पहिले पूजिने देवता भनेर छनौट गरे ।

भगवान गणेशको हात्तिको जस्तो शिरको अर्थ
भगवान गणेशको शिर हात्तीको जस्तै छ। त्यसैले कुनैपनि काम गर्दा उच्च शिर लिएर अर्थात् जसरी हात्तिलाई संसारको सबैभन्दा ठूलो थलचर प्राणिको रूपमा लिइन्छ। त्यसरी नै मान्छेले आफुले समाजमा शिर झुकाउनु नपरोस् भन्ने प्रार्थना गर्ने गर्छन् । विज्ञान भन्छ, हात्ती संसारको सबैभन्दा ठूलो थलचर प्राणि भएतापनि यसको आँखा तुलनात्मक रुपमा सानो हुने हुँदा अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्छ । तसर्थ गणेश भगवानको आकृतिमा देखिएको हात्तीको शिरबाट यो सिक्नु कि संसारमा भएका हरेक जीवलाई आफु भन्दा ठूलो हो भन्ने भावना राख्नु पर्छ । अनिमात्रै सफलता प्राप्त हुन्छ ।
भगवान गणेशको कानको अर्थ
पक्कै पनि तपाईले याद गर्नुभएको होला भगवान गणेशका कानहरू ठुला छन्। यसको अर्थ हुन्छ, मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु र बुझ्नु पर्छ। हाम्रा दुई कानको सार पनि त्यहि नै हो । सबैको कुराहरू ध्यान दिएर सुन्ने मानिस अन्य मानिस भन्दा बुद्धिमत्ता हुन्छ । आफ्नो मनमौजी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। गणेश भगवान्को कान ठूलो हुनुको आफ्नो बारेमा नराम्रो कुरा सुन्ने हिम्मत जुटाउनुपर्छ । त्यसैले हामीले कुनै पनि कामको सुरु गर्दा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गर्नु राम्रो हुन्छ भन्ने अर्थ शास्त्रहरुमा छ ।
नाक लामो हुनुको अर्थ
लमो नाक भएको मानिसलाई कस्तो गणेश जस्तो भन्ने गरीन्छ नि । पक्कै पनि त्यसको अर्थ छ । भगवान गणेशको नाक लामो हुनुको अर्थ कुनैपनि मान्छेले काम अथवा कार्यथालनी गर्दा आफ्नो लाज (इज्जत) बचाएर गर्नुपर्ने हुन्छ। समाजमा प्रचलित उखान छ कि फलानाले नाक काट्यो । यसर्थ समाजमा इज्जत बचाउने काम म बाट होओस् भनेर गणेश भगवानको लामो नाकलाई स्मरण गरी दृढ भएर सकारात्मक सोँचका साथ कार्य थालनी गर्दा अवश्य पनि कार्य्सिद्धि हुन्छ ।
पेट ठूलो हुनुको अर्थ
भगवान गणेशको पेट ठूलो छ। किन होला अनुमान गर्नुहोस् त । यसको अर्थ हो कुनै पनि कामको थालनी गर्दा सजिलो छैन । मानिसले गरेको रिस, राग, द्धेष, ईष्र्या, भए नभएका कुराहरू, राम्रा नराम्रा कुरा, खुट्टा तान्ने, डाहगर्ने, क्रिया प्रतिक्रिया सुन्नुपर्छ । ति कुरालाई मनमै दबाएर पैतालामूनि टेकेर पचाउनु पर्नेहुन्छ। राम्रा कुराहरूलाई मनभित्र केन्द्रित गर्न सक्नुपर्छ । मन नाङ्लोजस्तो बनाउनुपर्छ । झगडा गर्न्तिर लागियो भने त काममा बाधा आईहाल्छ नि ।
चारवटा हातहरू हुनुको अर्थ
पक्कै याद गर्नुभएको छ, भगवान श्री गणेशका चार वटा हातहरू छन्। तिनमा बन्चरो, लड्डु, वर मुद्रा र फूल छन्। यसको अर्थ हुन्छ, दया, दण्ड, कोमलता र मिठास । कुनै पनि कामको थालनी गर्दा यी चार कुरालाई अस्त्र बनाएर कार्य थालनी गर्दा निकै उत्तम हुन्छ । काममा बाधा व्यवधान आउँदैन ।
भगवान गणेशले वाहन मुसो रोज्नुको कारण यस्तो
सम्झनुहोस् त हिरा कत्रो हुन्छ अनि आँखाको नानी ? पक्कैपनि बहुमुल्य कुराहरुको आकार सानो हुन्छ । मुसो सानो हुन्छ । तर बहुतै चलाख । मुसाले समुन्द्र पारीवाट अन्नहरूको बिउ ल्याएर प्राणीहरुको ज्यान बचाएको हो भन्ने धार्मिक मन्थन पाईन्छ । अक्सर मान्छेहरु सानो कुराहरुलाई आनाकानी गर्छन् । तर हरेक कुराको आकार हेरेर त्यसको बारेमा आँकलन गर्नु गलत हुन्छ । तसर्थ हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशबाट यो सिक्नुपर्छ चलाख र बुद्धिमान अनि सल्लाह सुझावका लागि उपयुक्त पात्र छान्नुपर्छ । न कि उसको आकार । भनिन्छ, असल शिक्षा बालकबाट लिनुपर्छ ।