१ नम्बर प्रदेश, विराटनगर– २० जेठ २०७७ । आज ज्येष्ठ शुक्ल निर्जला एकादशी । घरघरमा तुलसीको दल राख्ने दिन । औषधिय गुणले भरिपूर्ण रहेको तुलसी वैदिक सनातन धर्मावलम्बीहरुका जति महत्वपूर्ण छ त्यो भन्दा बढी यसको औषधीय गुणले भरिपूर्ण रहेको कारणले पनि हरेक वर्ष मनाइने निर्जला एकादशीमा प्रदेश १ को राजधानी विराटनगर, इटहरी, दुहवी, विराटचोक, पथरी, बेलबारी, उर्लाबारी, दमक, बिर्तामोड, धरान, झुम्कासहित देशैभरका हिन्दु धर्मावलम्बीहरुको घरघरमा तुलसीको दल राखेर विशेष पुजाआजाका साथ पर्व मनाइँदैछ ।

कोरोना भाइरसका कारण देश बन्दाबन्दीमै भए पनि भित्रभित्रै धार्मिक कर्म भने सबैले गरिरहेका छन् । घरबाहिर रहेका मठमन्दिरमा भिड नियन्त्रणका लागि भक्तजनहरुलाई आवागमनमा रोक लगाइए पनि घरघरमै भगवानप्रतिको श्रद्धा र भक्तिमा कुनै कमी आएको छैन ।
आज राखिएको तुलसीको दलबाट उम्रेका विरुवा एक महिनापछि अर्थात आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मास समेत भनिन्छ । आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ ।
तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ । सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको छ ।
तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ ।