काठमाडौं, २१ जेठ २०७७ । पछिल्लो समयमा नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहित समावेश गरी जारी गरेको नेपालको नयाँ नक्साका सन्दर्भमा दिएको अभिव्यक्तिबाट भारतीय मिडियाले विवादमा तानेपछि बलिउड अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएकी छन् ।
प्राप्त समाचार अनुसार अभिनेत्री कोइराला स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए । प्रजिअ अधिकारीका अनुसार कोइराला बुबाआमाको साथमा स्वदेश फर्किएकी हुन । कोइराला सीमामा आएको थाहा पाउने वित्तिकै नेपाली सेनाको एक टोलीले तत्कालै पिकअप गरेका कारण सीमामा धेरै बेर रोकिन नपरेको प्रजिअ अधिकारी बताउँछन् । कोइरालाको पुरै परिवार होटलको क्वारेन्टाइनमा बस्ने भएका छन् ।
नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि मनिषा कोइरालले सरकारलाई धन्यवाद दिँदै मनिषाले त्रीपक्षीय वार्ताको सन्दर्भमा उठाएकी थिइन् । कोइरालले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएको हेर्न हामी सबै इच्छुक छौँ ।’
मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो प्रतिक्रिया दिएकी थिइन् ।
सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।
सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्‍मा दर्ता गरेको थियो। संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो।
आइतबार (जेठ १८) गते संघीय संसदको प्रतिनिधिसभा बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गरेकी छन् । जेठ १७ गते बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न पार्टी संसदीय दललाई निर्देशन दिइसकेको छ ।