Image may contain: 1 person, text

परिवारको गर्जो टार्ने क्रममा के महिला के पुरुष प्रत्येक घरबाट विदेश गएका छन् । जन्मभूमि छोडेर कर्मभूमिमा रमाउन उनीहरु बाध्य हुन्छन् । स्वदेशमा आफूले पाएको दुःखलाई पैसासँग साटेर पारिवारिक समृद्धिको सपना साँच्ने क्रममा उनीहरु प्रवासको भूमिमा पुगेर अनेकन प्रकारका हिंसाको शिकार पनि भएका छन् । तिनै महिला विदेशबाट स्वदेश फर्कदा नेपाली समाजले मायाको सट्टा तिरस्कार गर्ने गरेको आज होइन हरेक वर्ष यो समाजले यस्तै तिरस्कारमै महिलालाई राख्ने गरेको छ ।
शुक्रबार अर्थात असार ५ गते दुबईबाट नेपाल एयरलाइन्सबाट स्वदेश फर्किएका महिलाहरुमाथि विभिन्न नकारात्मक टिकाटिप्पणी भएका छन् । कमि, कमजोर सबैको हुनसक्छ । स्वदेशभित्र महिलामाथि भएका अनेकन घटना भइरहेका छन् भने त्यो विदेशको कुरा कति खेर के हुन्छ थाहा हुँदैन जे भए पनि सहनु पर्ने बाध्यता पनि छँदैछ । त्यो आफ्नो भुमिमा आएर सामाजिक जिवन चलाउन थालेपछि एकपछि अर्को गर्दै निस्कने विषय नै हुन तर एयरपोर्टमा प्लेटबाट खुट्टा झारिसकेको छैन, गर्भसँग जोडेर, यौनसँग जोडेर मात्र उनीहरुलाई सँधै तिरस्कार गर्ने गरिएको छ ।
प्रवासमा रहेर देशको अर्थतन्त्रलाई वर्षौदेखि टेवा पु¥याएर अहिले विषम परिस्थितिमा स्वदेश फर्कन पाएका महिला छन् तर तिनै महिलाप्रति नकारात्मक भावका समाचारहरु बनाउन सञ्चारकर्मी अलिकति पनि हिचकिचाएका देखिँदैनन्, मात्र समाचार भाइरल भईदिए भयो । यो कस्तो कर्म गरिरहेका छौं हामी । सामान्य मानवियतालाई पनि सहज ढंगबाट लिन सक्दैनौं भने हामी समाजप्रति जिम्मेवार कसरी बन्छौं । यतिसम्म देखियो कि राम्रो दखल राख्ने सञ्चारकर्मी महिलाले पनि ति विदेशबाट फर्किएका गर्भवती महिलालाई लक्षित गरेर अपाच्य शब्द हालेर ट्वीटरमा हालेको, समाचार बनाएको देखियो । पेटमा बच्चा बोकेर आउने महिलाले बच्चाको बाबु को हो भन्न नसक्लिन र ? कतिपय महिलाहरु त विदेशमा आफ्ना श्रीमानसँगै गएका छन् । केही महिला विदेशी भुमिमा बलात्कारको शिकार पनि बनेका हुन्छन, हुनसक्छन् के तिनीहरुले अब स्वदेशमा बाँच्न पाउने अधिकार गुमाएका हुन त ? महिलाप्रति समाजको सकारात्मक सोच कहिले बदलिएला ? अनि हामी भन्छौं नेपालमा विभेदको अन्त्य भयो ? कसरी भयो विभेदको अन्त्य ? त्यही पुरुष विदेशबाट आउँदा सम्मान तर महिला आउँदा अपमान ?